धरानका मेयर हर्क साम्पाङले नयाँ दल खोल्ने घोषणा : ‘विद्रोहको म्यान्डेटअनुसार काम गर्छु’


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नयाँ दल खोल्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले नयाँ राजनीतिक दल दर्ता गर्ने तयारीसँगै सबैलाई त्यसमा सामेल हुन आह्वान गरेका छन् ।

‘म पनि खोल्छु एउटा दल। त्यो दलमा सबै आबद्ध बन्नुहोला,’ साम्पाङले भनेका छन् । उनले जेन–जी विद्रोहले देखाएको परिवर्तनको भावनाअनुरूप काम गर्ने प्रतिबद्धता जनाउँदै आफूलाई भने विश्वास गर्न नसिएको गुनासो पोखे ।

जेन–जी आन्दोलन लगत्तै काठमाडौं आएका साम्पाङले देशको नेतृत्व लिन सक्ने दाबी गरेका थिए । तर प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएपछि गृहमन्त्री बन्न लबिइङ गरे पनि असफल भएपछि असन्तोष व्यक्त गरेका हुन् ।

‘२०७२ को संविधान टेकेर नयाँ नेपाल बनाउन सकिँदैन । यो विद्रोह अर्कै प्रणाली बनाउनका लागि हो। त्यही म्यान्डेटअनुसार गर्छु भन्दा मलाई पत्याइएन,’ साम्पाङले बताएका छन् । उनले कुनै प्रभुशक्ति वा आन्तरिक शक्ति–सम्बन्धका कारण पनि आफूलाई मन्त्रालय नदिइएको हुन सक्ने संकेत गरे ।

उनले विद्रोहको लक्ष्य केवल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनु मात्र नभएको, बरु प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीको बाटो खोल्ने भन्दै आन्दोलनको मर्म विपरीत वर्तमान नेतृत्व अघि बढेको टिप्पणी गरे ।

साम्पाङले देशमा फेरि अर्को चुनाव ल्याउन मात्रै आन्दोलन नभएको, बरु मुलुकको राजनीतिक संरचनामा नयाँ मोड ल्याउनुपर्ने बताए । “आन्दोलनपछि त्यसको मर्मअनुरूप चल्न नसक्नु नै ठुलो समस्या हो,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्