बालुवाटारमा सुदन गुरुङ समूहको घेराउ : प्रधानमन्त्री कार्कीको राजीनामा माग


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै सुदन गुरुङ नेतृत्वको समूहले आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेको छ।

मन्त्री छनोट प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै समूहले प्रधानमन्त्रीविरुद्ध तीव्र नाराबाजी गरेको हो। जेन–जी आन्दोलनको क्रममा ज्यान गुमाएकाहरूका परिवारका सदस्यलाई समेत सहभागी गराउँदै बालुवाटार पुगेका उनीहरूले “प्रधानमन्त्री राजीनामा दे”, “मुर्दामाथि राजनीति नगर” जस्ता नारा लगाएका थिए।

गुरुङ नेतृत्वको ‘हामी नेपाल’ समूहकै प्रस्तावमा सुशीला कार्की गत शुक्रवार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन्। तर, गृहमन्त्री बन्ने अपेक्षा विपरीत अधिवक्ता ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएपछि गुरुङ समूह आक्रोशित भएको हो। सामाजिक सञ्जालमा समेत गुरुङलाई गृह मन्त्री बनाउने चर्चा भए पनि अन्ततः प्रधानमन्त्री कार्कीले आइतबार साँझ अर्याललाई गृहमन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्री र कुलमान घिसिङलाई तीन मन्त्रालय (ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहकारी विकास) को जिम्मेवारी दिने निर्णय गरेकी थिइन्।

निर्णयपछि असन्तुष्टि पोख्दै गुरुङले आन्दोलन फेरि चर्काउने चेतावनीसमेत दिएका छन्। उनले भने, “सबसे पावरफुल नेपाली जनता हो। कसैले हामीलाई रोक्न सक्दैन। जुन ठाउँमा लगेर हामीले राखेका छौँ, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु।”

उनीहरूको नाराबाजीसँगै प्रधानमन्त्री निवास अगाडि सुरक्षा व्यवस्था कडा पारिएको थियो। असन्तुष्ट समूहले आन्दोलनको नेतृत्व आफूहरूले गरे पनि अहिले अरूले त्यसलाई ‘हाइज्याक’ गरेको आरोप लगाएको छ।

प्रधानमन्त्री कार्कीले आइतबार पदभार ग्रहण गरेलगत्तै मन्त्रीहरूको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेकी थिइन्। शीतल निवास स्रोतका अनुसार नवनियुक्त मन्त्रीहरूको शपथ सोमबार गराइने तयारी छ।

प्रतिक्रिया दिनुहोस्