प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् प्रारम्भिक स्वरूप : खनाल, अर्याल र घिसिङ मन्त्रीमा चयन


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पहिलो चरणमा तीन जना मन्त्रीको नाम टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार अर्थ मन्त्रालयमा पूर्वअर्थसचिव रामेश्वर खनाल, गृहमन्त्रालयमा अधिवक्ता ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई जिम्मेवारी दिइने भएको छ ।

अर्यालले गृहसँगै कानुन मन्त्रालय पनि सम्हाल्नेछन् भने घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र जलस्रोत तथा सिँचाइसमेतको जिम्मेवारी दिइनेछ । गुल्मीको इस्मा घर भएका अर्याल पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कानुनी सल्लाहकारका रूपमा कार्यरत थिए । उनले लोकमानसिंह कार्कीको नियुक्ति बदरदेखि गिरिबन्धु टी स्टेट प्रकरण, संसद् विघटनसम्बन्धी मुद्दासहितका चर्चित रिटमा सार्वजनिक सरोकार उठाउँदै आएका थिए ।

खनाल, जो केही समयअघि मात्र उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रूपमा ४४७ पृष्ठ लामो प्रतिवेदन तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई बुझाएका थिए, अब देशको वित्तीय स्थायित्व र पारदर्शितामै केन्द्रित हुने अपेक्षा गरिएको छ । नेपाललाई लोडसेडिङमुक्त बनाउन सफल घिसिङ आम जनताबिच लोकप्रिय नाम बनेका थिए । उनलाई केही महिनाअघि ओली सरकारले प्राधिकरणबाट हटाएको थियो । अहिले भने अन्तरिम सरकारले उनलाई फराकिलो जिम्मेवारी दिँदै मन्त्रालयको नेतृत्व गर्न आह्वान गरेको हो ।

जेन–जी आन्दोलनको दबाबमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि कार्की प्रधानमन्त्री बनेकी हुन् । उनी नेपालको इतिहासकै प्रथम महिला प्रधानमन्त्री भएकी छन् । कार्कीले शपथ लिएको केही घण्टामै प्रतिनिधि सभा विघटन गरिएको थियो भने आगामी फागुन २१ गते निर्वाचन गर्ने निर्णय भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्