रास्वपाकी नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्, ‘गल्तीमाथि गल्ती, तर स्वीकार कहिल्यै नगर्ने’


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी नेतृत्वमाथि गम्भीर आरोप लगाउँदै पार्टी परित्याग गरेकी छन् ।

विघटित प्रतिनिधि सभा सदस्य समेत रहेकी श्रेष्ठले शनिबार सामाजिक सञ्जालमार्फत् पार्टी छाडेको घोषणा गर्दै नेतृत्व ‘गल्तीमाथि गल्ती गर्दै तर त्यसलाई स्वीकार नगर्ने प्रवृत्ति’मा फसिएको आरोप लगाइन् ।

श्रेष्ठले भनेकी छन्, “अब खुला रूपमा आक्रमण गर्न सजिलो बनाइदिएकी छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोस्, म पार्टी छाडेकी छु ।”

उनले रास्वपाले आलोचना स्वीकार गर्ने संस्कृतिलाई कमजोर बनाएको दाबी गरिन् । पार्टीभित्र आलोचना गर्नेहरूलाई मिडियामार्फत् लक्षित आक्रमण गर्ने कार्य भइरहेको भन्दै उनले त्यसको प्रतिवादमा आफू अलग भएको स्पष्ट गरिन् ।

श्रेष्ठका अनुसार रास्वपाले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि व्यक्तिलाई राख्ने गलत अभ्यास सुरु गरेको छ । उनले भनिन्, “जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेलादेखि नै म निरन्तर आलोचना गर्दै आएकी हुँ ।”

पूर्वशिक्षामन्त्रीका रूपमा काम गरिसकेकी श्रेष्ठ हालै प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोहमा समेत उपस्थित थिइन् । उनको पार्टी परित्यागसँगै रास्वपाभित्रको असन्तुष्टि फेरि सतहमा आएको छ ।

श्रेष्ठको राजीनामापछि रास्वपाभित्रको नेतृत्व शैली र संगठनात्मक भविष्यबारे नयाँ बहस सुरु भएको छ । पार्टी नेतृत्वले यसबारे आधिकारिक प्रतिक्रिया अझै दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्