“सकेसम्म राम्रो गर्छु, नराम्रो गर्ने छैन” : नवनियुक्त आईजीपी खापुङ


काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले “सकेसम्म राम्रो गर्ने तर नराम्रो नगर्ने” प्रतिज्ञा गर्दै नेपालको सर्वोच्च प्रहरी पदभार सम्हालेका छन् । बिहीबार गृहमन्त्रालयमा गृहसचिव गोकर्णमणि दुवाडीबाट दर्ज्यानी चिह्न ग्रहण गरेपछि आईजीपी खापुङले भावुक मन्तव्य दिँदै भने, “प्रण गर्छु, सकेको राम्रो गर्छु, तर नराम्रो गर्ने छैन।”

तेह्रथुमको गाउँबाट प्रहरी सेवामा प्रवेश गरेर आज नेपालको प्रहरी नेतृत्वमा पुगेका खापुङले आफ्नो यात्रा महत्वाकांक्षाभन्दा मेहनत र उच्च आचरणले अघि बढाएको स्मरण गरे । उनले भने, “मसँग कुनै महत्वकांक्षा र प्राप्तिको मोह थिएन, तर परिश्रम र इमान्दारिताको प्रतिज्ञाले मलाई हरेक पाइलामा दिशानिर्देश गर्‍यो।”

नेपाल प्रहरीप्रति आम नागरिकको विश्वासलाई सबल बनाउन आफू समर्पित हुने उनले उद्घोष गरे । “व्यक्ति सफल हुनु भन्दा पनि संस्था सफल हुनु अपरिहार्य छ। म जिम्मेवार संस्थाका रूपमा प्रहरीको श्रीवृद्धि गर्न, नागरिकमैत्री सेवालाई संस्थागत बनाउन र राष्ट्रहितमा योगदान गर्न समर्पित हुनेछु,” आईजीपी खापुङले भने ।

२०५२ साल कात्तिक २७ गते निरीक्षकको हैसियतमा प्रहरी सेवामा प्रवेश गरेका उनले ३० वर्षे सेवाअवधि पूरा गर्दै आगामी २०८२ कात्तिक २७ मा अवकाश लिने छन् । हालको कानुन अनुसार उनको कार्यकाल करिब २ महिना ८ दिनको रहनेछ ।

आईजीपी दीपक थापाको अवकाशपछि मन्त्रिपरिषद्को १३ भदौको निर्णयले खापुङलाई प्रहरी प्रमुखमा नियुक्त गरेको हो । दर्ज्यानी चिह्न ग्रहणसँगै खापुङ गृह मन्त्रालयबाट प्रहरी प्रधान कार्यालय पुगेर औपचारिक रूपमा पदभार सम्हालेका छन् ।

राज्यको तर्फबाट टाढासम्म पुग्ने प्रहरी संस्था नागरिक जीवनमा अपरिहार्य भएको उल्लेख गर्दै उनले भने, “अहिले पनि हजारौँ ठाउँमा प्रहरीको माग छ । हामीले दैनिक हजारौँ नागरिकलाई सेवा गरेका छौँ, सयौँका जीवन जोगाएका छौँ । यही भरोसा कायम राख्न म मेरो सम्पूर्ण प्रयास गर्नेछु।”

प्रतिक्रिया दिनुहोस्