इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन रोक्न सांसद नेम्वाङको माग


काठमाडौं । सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने सरकारको निर्णयलाई तत्काल स्थगित गर्नुपर्ने माग नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले गरेका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यो विषय जनतासँग प्रत्यक्ष जोडिएको भएकाले संवेदनशीलतापूर्वक अघि बढाउनुपर्नेमा जोड दिए ।

नेम्वाङका अनुसार सवारीसाधन प्रयोग गर्ने आम नागरिकमाथि पहिले नै अनेकौँ आर्थिक तथा प्रशासनिक बोझ छन् । गाडी किन्नासाथ उच्च कर तिर्नुपर्ने, प्रत्येक वर्ष अनिवार्य बिमा गर्ने, सडक कर तिर्न लामो लाइन बस्नुपर्ने, र चालक अनुमति पत्र (लाइसेन्स) बनाउन फारम, परीक्षा र लामो प्रतीक्षा सहनुपर्ने अवस्थाबिच इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयनले थप सास्ती मात्र थपेको उनको भनाइ छ ।

“जब हजारौँ नागरिकले वर्षौँ कुर्दा पनि लाइसेन्स पाएका छैनन्, कर तिर्न दिनभर लाइन बस्नुपरेको छ, यस्तो अवस्थामा इम्बोस्ड नम्बर प्लेट किन अनिवार्य गरिँदै छ ?” सांसद नेम्वाङले प्रश्न उठाए । उनले जनताको तहबाट पनि सो कदमबारे शङ्का र असन्तुष्टि बढेको जानकारी दिँदै पर्याप्त प्रविधि, सेवा केन्द्र र दक्ष जनशक्ति अभावबिच सरकारले चाडबाजी देखाएको टिप्पणी गरे ।

नेम्वाङले इम्बोस्ड नम्बर प्लेटले जनताको भाषा र भावनासँग समेत मेल नखाने तर्क प्रस्तुत गरे । उनले भने, “जनताले हाम्रो भाषा र भावनासँग जोडेर पनि प्रश्न उठाएका छन् ।” त्यसैले सरकारले तत्काल कार्यान्वयन स्थगित गरी, आवश्यक पूर्वाधार, प्रविधि र जनचेतना सुनिश्चित गरेपछि मात्र चरणबद्ध रूपमा अघि बढाउनुपर्ने उनको आग्रह छ ।

सांसद नेम्वाङको हस्तक्षेपपछि प्रतिनिधि सभामा इम्बोस्ड नम्बर प्लेटबारे थप बहसको वातावरण सिर्जना भएको छ । अब सरकारले जनताका चासो र प्रश्नलाई कसरी सम्बोधन गर्छ भन्ने प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस्