काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबिच तियानजिनमा विशेष साइडलाइन भेटवार्ता भएको छ। शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को २५औँ शिखर सम्मेलनमा भाग लिन चीन पुगेका प्रधानमन्त्री ओली र मोदीबिचको भेटलाई दुई छिमेकी देशबिचको स्थायी मैत्री र कूटनीतिक सम्बन्धको पुष्टि गर्ने घटना मानिएको छ।
भेटको तस्बिर भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल एक्स मार्फत सार्वजनिक गर्दै लेखेका छन्, “तियानजिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्दा खुशी लाग्यो। भारत–नेपालको सम्बन्ध गहिरो र विशेष छ।” मोदीको उक्त अभिव्यक्तिले दुई देशबिचको ऐतिहासिक सम्बन्धलाई पुनः स्मरण गराएको छ।
भेटमा प्रधानमन्त्री ओलीसँग उनकी पत्नी राधिका शाक्य पनि उपस्थित थिइन्। शनिवार ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि औपचारिक भेटवार्ता गरेका थिए। राष्ट्रपति सि जिनपिङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका हुन्।
प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाली काँग्रेसका उपसभापति एवं सांसद पूर्णबहादुर खड्का, नेकपा एमालेका सचिव एवं सांसद छविलाल विश्वकर्मा, र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू पनि सहभागी छन्।
विशेषज्ञहरूका अनुसार ओली–मोदी भेटले नेपाल–भारत सम्बन्धमा सन्देशमूलक संवादको सङ्केत गरेको छ। चीन भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले त्रिपक्षीय सम्बन्ध नेपाल, भारत र चीनबीचको संवेदनशील सन्तुलनमा कूटनीतिक सक्षमता देखाएका छन्।
नेपाल र भारतबिचको सम्बन्धलाई अझ सुदृढ बनाउन, द्विपक्षीय समझदारीलाई प्रगाढ बनाउने र क्षेत्रीय शान्ति एवं समृद्धिका लागि यी भेटहरू महत्त्वपूर्ण मानिएका छन्।