चीन । शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनमा व्यस्त दिन बिताएका छन्। एससीओ शिखर सम्मेलनकै सिलसिलामा उनले समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग दुईपक्षीय भेटवार्ता गरे।
भेटमा नेपाल–भियतनाम सम्बन्धलाई अझ घनिष्ठ बनाउन सहकार्यका विविध आयामबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ओली र चिङबीचको वार्तामा आर्थिक सहकार्य, व्यापार, पर्यटन तथा जनस्तरको सम्पर्क विस्तार प्राथमिकताका विषय बनेका थिए।
यसअघि प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि भेटवार्ता गरेका थिए। भेटमा ओलीले हालै भारत र चीनबीच नेपालको सार्वभौम भूभाग लिपुलेकलाई व्यापारका लागि प्रयोग गर्ने सहमति भएको खबरप्रति आपत्ति प्रकट गर्दै नेपालप्रतिको संवेदनशीलतालाई बेवास्ता गर्न नहुने धारणा स्पष्ट पारे। उनले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डता कुनै पनि हालतमा सम्झौता गर्न नसकिने बताए।
थियानजिनमा आफ्नो व्यस्त कार्यक्रमका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ धानखेती प्रणाली र त्यहाँको आधुनिक संग्रहालयसमेत अवलोकन गरे। धानखेतीमा प्रयोग हुने प्रविधि, उन्नत बीउ तथा चीनले कृषिलाई दिगो बनाउन अपनाएका अभ्यासप्रति उनको चासो देखिएको थियो।
एससीओ शिखर सम्मेलनमा सहभागी हुने अवसरमा प्रधानमन्त्री ओलीले नेपालको कूटनीतिक उपस्थितिलाई मजबुत बनाउने, छिमेकी तथा क्षेत्रीय शक्तिसँगको सम्बन्ध सन्तुलित राख्ने र अन्तर्राष्ट्रिय जगतमा नेपालको आवाजलाई प्रस्ट्याउने उद्देश्य राखेका छन्। चीन भ्रमणका क्रममा उनले बहुपक्षीय संयन्त्रमा नेपालको सक्रियता र समावेशी भूमिका देखाउने अपेक्षा गरिएको छ।
नेपाल–भारत–चीन त्रिकोणीय सम्बन्धको संवेदनशीलता, नेपालको सार्वभौमसत्तामा चुनौती र क्षेत्रीय कूटनीतिक सन्तुलनका कारण ओलीको यो चीन यात्रा निकै चासोको विषय बनेको छ।