काठमाडौं । सत्ता साझेदार दल नेपाली काँग्रेसले सरकारमा प्रतिनिधित्व गरिरहेका आफ्ना मन्त्रीहरूमा हेरफेर नगर्ने स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको एक वर्ष पूरा भएको सन्दर्भमा मन्त्री फेरबदलको तयारी थाले पनि काँग्रेसले आफ्नो अडान बदल्न नसक्ने बताएको हो ।
आज बसेको काँग्रेस शीर्ष नेताहरूको बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले मन्त्री हेरफेरबारे कुनै छलफल नै नभएको जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीले विभिन्न दलका मन्त्री फेर्ने विषयमा कुरा उठाए पनि काँग्रेसभित्र भने मन्त्री फिर्ता बोलाउने वा नयाँ नाम सिफारिस गर्ने कुनै बहस भएको छैन । पौडेलले भने, “जसपा र लोसपाको फेर्ने कुरा चलिरहेको छ । प्रधानमन्त्रीले कुरा गर्नु स्वाभाविक हो । तर पार्टीभित्र मन्त्री फेरफारको चर्चा छैन ।”
हाल काँग्रेसबाट सरकारमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहले सम्हालिरहेका छन् । प्रधानमन्त्री ओलीलाई भने सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मन्त्री परिवर्तनका लागि दबाब दिइरहेका छन् । जसपाले खानेपानी मन्त्री प्रदीप यादव र महिला मन्त्री नवलकिशोर सुडीलाई फिर्ता बोलाउँदै वीरेन्द्र महतो र रञ्जुकुमारी झालाई मन्त्री बनाउन नाम सिफारिस गरिसकेको छ । त्यस्तै, लोसपाले पनि श्रममन्त्री शरदसिंह भण्डारीलाई फिर्ता बोलाउँदै सर्वेन्द्रनाथ शुक्ललाई मन्त्री बनाउन आग्रह गरेको छ ।
प्रधानमन्त्री ओलीले काँग्रेसले पनि केही मन्त्री फिर्ता बोलाए सरकारमा व्यापक हेरफेर सहज हुने अपेक्षा राखेका थिए । तर, काँग्रेसले मन्त्री नफेर्ने अडान लिएपछि प्रधानमन्त्रीलाई गठबन्धनभित्र सन्तुलन मिलाउन सकस परेको देखिएको छ ।