काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले ल्याएको इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने स्पष्ट पारेको छ । महासंघका महासचिव डेकनाथ गौतमले आज विज्ञप्ति जारी गर्दै देशभरका यातायात व्यवस्था कार्यालयमा आवश्यक प्रविधि र पूर्वाधारको विकास नभएकाले तत्काल उक्त निर्णय व्यवहारिक नहुने बताएका हुन् ।
‘नेपाल सरकारले सार्वजनिक तथा निजी सवारीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लगाउने निर्णय कार्यान्वयनमा लैजाँदा आमरुपमा विरोध भएपछि यसलाई स्थगित गरिएको थियो । त्यस्तो अवस्थामा पुनः लागू गर्ने निर्णय न्यायोचित छैन,’ विज्ञप्तिमा उल्लेख छ ।
महासंघले सर्वोच्च अदालतले यसबारे गरेको फैसलालाई भने स्वागत गरेको स्पष्ट गर्दै, हालको अवस्थामा सार्वजनिक सवारी साधनका व्यवसायीहरूले पुरानै नम्बरमा कर तिरेर कागजपत्र नवीकरण गर्दा इम्बोस्ड नम्बरको मात्र राजस्व असुल गरिनु अन्यायपूर्ण रहेको जनाएको छ ।
पूर्वाधारबिना राजस्व असुली गर्न खोज्नु गैरव्यवहारिक भएको भन्दै महासंघले सरकारलाई जारी गरिएको सूचना तत्काल पुनःमूल्याङ्कन गर्न आग्रह गरेको छ ।