इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयप्रति सांसद श्रेष्ठको आपत्ति

जनतामाथिको अर्को अन्याय र जनभावनाविपरीतको कदम


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद विराजभक्त श्रेष्ठले सरकारले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयप्रति कडा आपत्ति जनाएका छन् । उनले यो निर्णयलाई जनतामाथिको अर्को अन्याय र जनभावनाविपरीतको कदम भन्दै आलोचना गरेका हुन् ।

‘तयारी नै नगरी बलजफ्ती रूपमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णय जनतामाथि गरिएको अर्को अन्याय हो,’ सांसद श्रेष्ठले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, ‘नागरिकलाई लाइसेन्स वितरण गर्न नसकेको सरकारले अब पूर्वाधार, प्राविधिक तयारी र नेपाली भाषा–लिपिको संवेदनशीलता नहेरी जबरजस्ती निर्णय लागू गर्नु जनभावना विपरीत कदम हो ।’

सरकारले आगामी असोज १ गतेदेखि देशभरका सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने निर्णय गरेको छ । यसअनुसार यातायात व्यवस्था कार्यालयमा सवारी दर्ता, नामसारी वा नवीकरण गर्ने सबै सवारीमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ ।

यो निर्णयबारे आम नागरिक र राजनीतिक दलबिच फरक–फरक प्रतिक्रिया देखिएको छ । सरकार भने यसलाई यातायात व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउन आवश्यक कदमका रूपमा प्रस्तुत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्