रवि लामिछाने नख्खु कारागार सरुवा हुने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीस्थित भैरहवा कारागारबाट नख्खु कारागार सरुवा गर्ने निर्णय भएको छ। गृह मन्त्रालयको निर्देशनपछि कारागार व्यवस्थापन विभागले शुक्रवार रुपन्देही कारागारलाई पत्राचार गर्दै लामिछानेलाई नख्खु कारागार पठाउन आवश्यक प्रक्रिया अघि बढाउन आदेश दिएको हो। विभागका महानिर्देशक लीलाप्रसाद शर्माले आफ्नो पदभार ग्रहणको दिनमै यो निर्णय गरेका हुन्।

गृह मन्त्रालय स्रोतका अनुसार लामो समयदेखि रोकिएको लामिछानेको कारागार सरुवा अब छिट्टै कार्यान्वयन हुनेछ। कारागार सरुवाको अनुमति अदालत र जिल्ला प्रशासन कार्यालयले पहिले नै दिएको भए पनि तत्कालीन गृहमन्त्री रमेश लेखकको निर्देशनमा विभागले निर्णय रोकेको भन्दै आलोचना हुँदै आएको थियो।

गत साता राष्ट्रिय मानव अधिकार आयोगले लामिछाने रहेको कारागारको निरीक्षण गर्दै सबै प्रक्रिया पूरा भइसके पनि सरुवा नगरिएको विषयमा ध्यानाकर्षण गराएको थियो। यसै विषयमा छलफल गर्न आयोगले बिहीबार कारागार व्यवस्थापन विभागका निर्देशकलाई समेत बोलाएको थियो।

यस्तै, बिहीबार प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरूको प्रश्नमा गृहमन्त्री लेखकले लामिछानेको कारागार सरुवाको विषयलाई गम्भीर रूपमा लिएको बताएका थिए। लामिछाने हाल बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी गरेको अभियोगमा पुर्पक्षका क्रममा भैरहवा कारागारमा छन्। जिल्ला अदालतले उनलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिए पनि उच्च र सर्वोच्च अदालतले थुनामै राख्नुपर्ने आदेश जारी गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्