पेट्रोलको मूल्य बढ्यो, डिजेल–मट्टितेल सस्तो


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गर्दै पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

निगमले इन्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य सूची प्राप्त भएपछि मूल्य समायोजन गरिएको जनाएको हो। निगमका अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको छ।

नयाँ मूल्य सूचीअनुसार शनिबारदेखि काठमाडौं, वीरगञ्ज र अमलेखगञ्ज डिपोबाट बिक्री हुने पेट्रोलको खुद्रा मूल्य बढ्नेछ भने डिजेल र मट्टितेल उपभोक्ताले पहिलेभन्दा सस्तोमा खरिद गर्न पाउनेछन्।

निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्यमा आएको परिवर्तनका आधारमा आन्तरिक मूल्य निर्धारण गरिएको बताएको छ। यसअघि केही समयदेखि पेट्रोलियम पदार्थको मूल्य स्थिर रहेकोमा यसपटक पेट्रोल महँगो र डिजेल–मट्टितेल सस्तो हुने भएको हो।

प्रतिक्रिया दिनुहोस्