कुवेतमा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउने नेपाली १६ पुगे


काठमाडौं । कुवेतमा विषादीयुक्त अवैध मदिरा सेवनका कारण ज्यान गुमाउने नेपालीको संख्या १६ पुगेको छ। नेपाली दूतावासको तथ्यांकलाई उद्धृत गर्दै नेपाल पत्रकार महासंघ कुवेत शाखाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त तथ्य पुष्टि गरेको हो।

महासंघका अनुसार, यस घटनामा ज्यान गुमाउने कुल २३ एसियालीमध्ये १६ जना नेपाली श्रमिक रहेका छन्। मृतकहरूको पूर्ण विवरण भने अझै प्राप्त नभएको महासंघले जनाएको छ। कुवेतमा शुक्रबार सार्वजनिक बिदा भएकाले थप विवरण आउन समय लागिरहेको बताइएको छ।

नेपाल पत्रकार महासंघ कुवेत शाखा अध्यक्ष राज मल्लका अनुसार, ज्यान गुमाउने नेपालीहरूको ठेगाना र उनीहरू कार्यरत कम्पनीको विवरण अहिलेसम्म प्राप्त भएको छैन। “१६ जना नेपाली नागरिक रहेको आधिकारिक जानकारी प्राप्त भएको छ, तर विस्तृत व्यक्तिगत विवरण अझै संकलन भइरहेको छ,” मल्लले भने।

घटनापछि बेहोस भएका १६० जनाभन्दा बढी आप्रवासी श्रमिकहरूलाई विभिन्न अस्पतालका सघन उपचारकक्ष (ICU) मा भर्ना गरिएको महासंघको विज्ञप्तिमा उल्लेख छ। तीमध्ये ठूलो संख्यामा नेपाली श्रमिक रहेको आशंका गरिएको छ।

कुवेतमा विषाक्त मदिरा सेवनको यस घटनाले त्यहाँ कार्यरत नेपाली समुदायलाई गम्भीर रूपमा प्रभावित पारेको छ। मृतक र बिरामीको अवस्थाबारे नेपाली दूतावास र कुवेतस्थित नेपाली संघसंस्थाहरू थप विवरण संकलनमा जुटिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्