काँग्रेसमा भर्खरै प्रवेश गरेका देवेन्द्र यादवको सदस्यता अर्को दिनै खारेज


काठमाडौं । नेपाली काँग्रेसले हिजो मात्रै पार्टी प्रवेश गराएका महोत्तरीका देवेन्द्र यादवको सदस्यता आज (शुक्रवार) खारेज गरेको छ। सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका अभियुक्त यादवलाई पार्टीमा प्रवेश गराएको समाचार सार्वजनिक भएपछि आलोचना बढेको थियो। त्यसलगत्तै काँग्रेसले उनलाई सदस्यताबाट निष्कासन गरेको हो।

काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “केही साथीहरूले महोत्तरीका देवेन्द्र यादवलाई लिएर कार्यकक्षभित्र प्रवेश गरी पार्टी सदस्यता प्रदान गर्न आग्रह गरे बमोजिम नेपाली काँग्रेसका सभापतिले निजलाई सदस्यता प्रदान गर्नुभएको हो। तर बुझ्दै जाँदा निज उपर फौजदारी कानुनी कारबाही प्रक्रिया रहेको थाहा हुन आएपछि प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ।”

पौडेलले यादवमाथि जारी कानुनी कारबाहीको सन्दर्भमा गृह प्रशासनको समेत ध्यानाकर्षण गराइएको उल्लेख गरेका छन्। साथै, उनलाई पार्टीमा ल्याउन भूमिका खेल्ने नेताहरूप्रति सचेतना गराइएको छ। यादवको राजनीतिक यात्रा तत्कालीन सद्भावना पार्टीबाट सुरु भई, राष्ट्रिय जनता पार्टी हुँदै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सम्म पुगेको थियो। पछिल्ला वर्षहरूमा उनी राजनीतिक रूपमा निष्क्रिय थिए। काँग्रेस सहमहामन्त्री महेन्द्र यादव र मधेस प्रदेश सभापति कृष्ण यादवसँगको संवादपछि उनलाई नेपाली काँग्रेसमा प्रवेश गराइएको हो।

यादवको पार्टी प्रवेश कार्यक्रममा काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री यादव, महोत्तरी–४ का सांसद महेन्द्रकुमार राय, काँग्रेस मधेस प्रदेशका सभापति यादव र काँग्रेस महोत्तरीका सभापति नागेश्वर यादवलगायतको उपस्थिति थियो। मधेस आन्दोलनका क्रममा २०७२ भदौ २५ गते आन्दोलनकारीहरूले असई थमन विकको हत्या गरेका थिए। सो घटनापछि तीन वर्षपछि, २०७५ साउन २८ गते २८ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो। महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते विकको हत्यामा संलग्न सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो।

देवेन्द्र यादव प्रहरीको फरार सूचीमा रहेका छन् र उनी विरुद्धको मुद्दा हाल महोत्तरी जिल्ला अदालतमा मुलतबीमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्