काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित प्रमुख भरत थापालाई भ्रष्टाचारको मुद्दामा आठ वर्ष कैद र १० करोडभन्दा बढी जरिवाना हुने फैसला सुनाइएको छ।
विशेष अदालतले बिहीबार थापासहित नगरपालिकाका अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख सागर पौडेललाई नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको ठहर गर्दै सजाय सुनाएको हो। अदालतले उनीहरूलाई जनही आठ वर्ष कैद र जनही १० करोड ९ लाख ७८ हजार २९९ रुपैयाँ १३ पैसाको दरले जरिवाना असुल गर्न आदेश दिएको छ।
साथै, पीडित राहत कोषमा ४० लाख ३९ हजार १३१ रुपैयाँ ९७ पैसा दाखिला गराउन समेत फैसला भएको छ। अदालतको निर्णय अनुसार, प्रतिवादीहरूले कुल ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बराबरको नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको पुष्टि भएको छ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठ तथा विदुर कोइरालाको इजलासले साउन २१ गते उनीहरूलाई कसुरदार ठहर गरेको थियो भने बिहीबार नै सजाय निर्धारण गरिएको हो।
थापालाई यसअघि गैरकानुनी सम्पत्तिको मुद्दामा एक वर्ष कैद र बिगो बराबरको जरिवानाको फैसला पनि सुनाइएको थियो। अदालतले मेयर थापाले तीन करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गरेको छ। यसैबिच, उपमेयर लीलाकुमारी मोक्तान, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीले सफाइ पाइसकेका छन्।