भक्तपुर । गुण्डा नाइकेका रूपमा परिचित चक्रे मिलनलाई जिल्ला अदालतमा थुनछेक बहसको पालो नपुगेपछि पुनः प्रहरी हिरासतमा पठाइएको छ । अभद्र व्यवहारसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले बुधवार ३० हजार धरौटीमा रिहा गरे लगत्तै उनलाई अर्को कुटपिटसम्बन्धी मुद्दाको अनुसन्धानका लागि भक्तपुर पठाइएको थियो ।
थिमीस्थित प्रहरी वृत्तमा राखिएका चक्रेलाई शुक्रवार बिहानै बयानका लागि व्यासीस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरिएको थियो । बयान सकिए पनि अदालतमा पेश गर्ने समय अभाव हुँदा उनलाई पुनः हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
‘आज मुद्दा दर्ता भयो तर थुनछेक बहस आज नभ्याइने भएकाले हिरासतमै राखेर भोलि अदालत पेश गरिनेछ,’ डिएसपी न्यौपानेले बताए ।
चक्रेविरुद्धको मुद्दा एक वर्षअघि घटेको ज्यान मार्ने उद्योगसँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ । सो घटनामा चक्रेसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै प्रहरी वृत्त थिमिमा जाहेरी दर्ता भएको थियो ।
२०७८ भदौ १० गते सानोठिमीस्थित दिव्यश्जरीमा रहेको ‘बड्डाको तावा रेस्टुरेन्ट’ मा आफ्ना भतिजो मनिष रायमाझीमाथि आक्रमण भएको भन्दै पीडितका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए । जाहेरीअनुसार, सर्लाहीको हरिवन नगरपालिका–४ का २५ वर्षीय अजित खवाससहितका व्यक्तिले उक्त आक्रमणमा संलग्न रहेको आरोप छ ।