काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानले खेतीको सिजनमा मल नपाउनुको मुख्य कारण सम्बन्धित निकायको जबाफदेहिताको कमी भएको स्पष्ट पारेका छन्। मङ्गलवार सिंहदरबारमा सरोकारवाला पक्षसँग भएको छलफलको एक अंशबारेको भिडियो क्लिप्स आज सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उनले सम्बन्धित निकायले जिम्मेवारीपूर्वक काम नगर्दा मल अभाव भएको र त्यसको दोष सरकार र नेताहरूले खेप्नुपरेको गुनासो गरेका हुन्।
सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले भनेका छन्, “जबाफदेही निकाय जबाफदेही हुन नसक्दा नै काम गर्नेले गाली पाउँछ र विरोध मात्रै गर्नेको वाहवाही हुन्छ। हरेक सरकारी निकायहरू आफ्नो परिभाषित काममा आफैँ जबाफदेही हुनुपर्छ। नागरिकको समस्यामा सरकार चुप लागेर बस्न मिल्दैन।”
उनले किसानले मल नपाएको गुनासो तत्काल सम्बोधन गर्न हिजो सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएको बताए। “समस्या हेरेर बस्ने होइन, समाधान गर्ने हो,” उनले भनेका छन्।
प्रधानमन्त्री ओलीले सोमबार कृषि तथा पशुपंक्षी विकास मन्त्री र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई तीन दिनभित्र रासायनिक मलको प्रभावकारी वितरणको ठोस प्रस्तावसहित उपस्थित हुन निर्देशन दिएका थिए।
भिडियोमा ओलीले सम्बद्ध संस्थाका प्रतिनिधिलाई सोधेको देखिन्छ — “तपाईँहरूको संस्थाले मल आपूर्ति गर्न सकेको छैन, तर गाली तपाईँहरूको संस्थाले खाएको छैन। गाली त नेताहरू, पार्टी र मन्त्रीले खाएका छन्। मलाई धेरै कुरा भन्दा पनि मल चाहियो यहाँ।”
उनले स्मरण गराउँदै भने, “म प्रधानमन्त्री हुने बित्तिकै मल आपूर्तिमा कमी नहोस् भनेर स्पष्ट निर्देशन दिएको थिएँ। आइन्दा के–के व्यवस्था गर्नुपर्छ, गरौँ भनेर भनेको थिएँ। तर त्यो अनुसार भएन।”
यस विषयमा सरकारले समस्या समाधानका लागि तत्काल कदम चाल्ने प्रतिबद्धता जनाएको छ।