सांसद खतिवडालाई तुरुन्त जेल पठाउन रास्वपा नेतृ सङ्ग्रौलाको माग


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ ज्वाला सङ्ग्रौलाले प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका तत्कालीन सभापति तथा नेपाली काँग्रेस सांसद रामहरि खतिवडालाई तुरुन्त जेल पठाउन माग गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै, केवल पदत्याग गरेर कुकर्म र अपराध मेटिने होइन भन्दै कडा शब्दमा आपत्ति जनाएकी हुन्।

सङ्ग्रौलाले लेखेकी छन्, “राजीनामा दिएर कुकर्म र अपराध पखालिन्छ ? तुरुन्तै सांसद पद बर्खास्त गर र जेलमा पठाऊ। बिग्रेको घडीको समय सकिएको छ।” उनका अनुसार, दोषी देखिएका जनप्रतिनिधिलाई राजनीतिक संरक्षण दिने प्रवृत्ति लोकतन्त्र र सुशासनका लागि घातक छ।

खतिवडाले मङ्गलवार मात्र राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका थिए। उनले राजीनामा पत्र बुझाएपछि पार्टी सभापति शेरबहादुर देउवाले नदिन आग्रह गरे पनि आफूले व्यक्तिगत निर्णय स्वरूप दिएको बताएका थिए।

सङ्घीय निजामती सेवा विधेयकमा समावेश गरिएको ‘कुलिङ अफ पिरियड’ प्रावधानलाई लिएर पछिल्ला दिनमा विवादमा तानिएका खतिवडाले यसअघि आफू दोषी देखिए कानुनअनुसार सजाय भोग्न तयार रहेको सार्वजनिक रूपमा बताएका थिए। तर रास्वपा नेतृ सङ्ग्रौलाले भने केवल “तयारी” को कुरा होइन, तत्काल कानुनी कारबाही गरेर जेल पठाउनुपर्ने आवश्यकता औँल्याएकी छन्।

प्रतिक्रिया दिनुहोस्