‘हामीलाई अहिले सरकार चाहिएको छैन, जनताको गुनासो सुन्नतर्फ केन्द्रित छौँ’ : प्रचण्ड


चितवन । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा प्रवेश गर्ने विषय आफ्नो दलको तत्कालीन प्राथमिकतामा नरहेको स्पष्ट पारेका छन्।

चितवनमा आज पत्रकारसँग कुरा गर्दै उनले वर्तमान सरकारले गरिरहेको कामको आलोचना गर्दा कतिपयले माओवादी केन्द्रलाई सत्ता चाहिएकोजस्तो बुझ्ने प्रवृत्ति देखिएको उल्लेख गरे। उनले भने, “यो सरकारले राम्रो काम गरिरहेको छैन। त्यस विषयमा कुरा उठाउँदा सरकार चाहिएको जसरी बुझ्नु हुँदैन। हामीलाई सरकार चाहिएको छैन। त्यस विषयमा हामीले कुनै चासो राखेका छैनौँ।”

उनका अनुसार माओवादी केन्द्रले भदौ तेस्रो साताबाट विगतमा स्थगित गरिएको जनसम्पर्क अभियानलाई पुनः सुरु गर्ने तयारी गरेको छ। त्यसपछि केन्द्रीय समिति बैठक बसेर नयाँ एजेन्डासहित अघि बढ्ने उनले जानकारी दिए। “हाल हामी सरकारभन्दा जनताका कुरा सुन्नतर्फ पार्टीलाई केन्द्रित गरिरहेका छौँ। जनताको गुनासो र ती गुनासा समाधानका लागि अभियान पुनः सञ्चालन गर्न लागिएको हो,” दाहालले जोड दिए।

हालै सम्पन्न स्थायी समिति बैठकबाट पार्टीभित्रको एकता बलियो भएको दाबी गर्दै उनले बैठकका निर्णयलाई छिट्टै कार्यान्वयनमा ल्याइने बताए। फरक प्रसङ्गमा उनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्थलगत अवलोकन गरेका थिए। अवलोकनपछि उनले रङ्गशालाको काम द्रुतगतिमा अघि बढाउनुपर्ने आवश्यकता महसुस भएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्