कैलाली । कैलाली कारागारमा भएको कैदीबन्दीबीचको झडपपछि घाइतेहरूको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली पुगेको छ । आयोगको सुदूरपश्चिम कार्यालय प्रमुख प्रकाशदत्त भट्टको नेतृत्वमा गएको टोलीले उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्था र उपचार व्यवस्थाबारे जानकारी लिएको हो ।
घाइतेका परिवारजनले भेट्न नपाएको र उपचारबारे स्पष्ट जानकारी नपाएको गुनासो आएपछि आयोगको टोली कारागार पुगेको हो । कारागारमा सोमबार भएको झडपमा एक कैदीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका छन् ।
घटनापछि जिल्लाका चार वटै सुरक्षा निकायका प्रमुखहरू—प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका प्रमुख—कारागार पुगेका छन् । उनीहरूले घटनापछि सुरक्षाको अवस्था र व्यवस्थापनबारे स्थलगत निरीक्षण गरेका छन् ।
यसैबिच, कारागार क्षेत्रमा आफन्त तथा मिडियाकर्मीको प्रवेशमा रोक लगाइएको छ । प्रशासनले यसलाई सुरक्षा संवेदनशीलता र नियन्त्रणको आवश्यकताका कारण गरेको जनाएको छ ।