सोलुखुम्बु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सोलुखुम्बुका लिखुपिके गाउँपालिकाका सभापति रामचन्द्र बस्नेतलाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ।
लिखुपिके गाउँपालिका–२ निवासी बस्नेतमाथि फरक क्षमताकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको हो। सोलुखुम्बु प्रहरीका अनुसार, २०८१ साल साउन ६ गते उक्त घटनापछि उनी फरार भएका थिए।
पक्राउ परेका बस्नेतलाई सोमबार काठमाडौँको वनस्थलीबाट पक्राउ गरिएको हो। घटनापछि लामो समयसम्म फरार रहेका उनलाई काठमाडौँबाट पक्राउ गरी सोलुखुम्बु ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईले जानकारी दिए।
उनका अनुसार, पक्राउ गरिएको व्यक्तिलाई बुधवार सोलु अदालतमा उपस्थित गराई सात दिनको म्याद थप लिइएको छ। अब घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
यस घटनाले रास्वपाको स्थानीय तहको नेतृत्वमा रहेका व्यक्तिहरूप्रति पनि प्रश्न उठाएको छ। फरार अभियुक्त लामो समयसम्म खुलेआम हिँडेको विषयमा प्रहरी प्रशासनको निगरानी र राजनीतिक दलको आन्तरिक अनुशासन प्रणालीसमेत आलोचनाको घेरामा परेको देखिन्छ।
प्रहरीले पीडितको संवेदनशीलताको सम्मान गर्दै घटनासम्बन्धी अन्य विवरण हाल सार्वजनिक नगरिएको बताएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।