काठमाडौं । सत्तारूढ नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले अदालतको आदेशप्रति पहिले खुलेर आलोचना गर्ने र अहिले हस्ताक्षरमार्फत दबाब दिने प्रवृत्तिप्रति लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि कडा आलोचना गरेका छन्।
बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले रास्वपाका नेताहरूले विगतमा “केरे केरे! तिम्रो पिताजीको शासन हो?” भन्ने शैलीमा अदालतको आदेशप्रति असहमति जनाउने तर अहिले त्यसैको विपरीत ‘हस्ताक्षरमार्फत दबाब दिने प्रवृत्ति’ देखाएको टिप्पणी गरे।
“हिजो त्यसरी बोल्ने अनि आज हस्ताक्षरमार्फत कसलाई दबाब दिन खोजेको? अदालतलाई कि अस्पताललाई, कि क्याम्पसलाई?” भन्ने तीव्र प्रश्न गर्दै उनले रास्वपालाई आफूजस्तै नयाँ भएकाले अझ सिक्नु पर्ने सुझाव पनि दिए।
शर्माले आफ्नै पार्टीको नाम उल्लेख नगरी केही नेताहरू काँग्रेसबाटै रास्वपामा गएका संकेत गरे। तर त्यही नेताहरूको ‘बोल्ने तागत काँग्रेसमा हुँदा मात्रै देखिने’ आरोप लगाए।
उनको भनाइमा, “रास्वपा सभापति जेलमा भए पनि आदेश गर्न स्वतन्त्र छन्, तर बाहिर रहेका नेताहरू भने जेलका कैदीझैँ आदेश मान्न बाध्य छन्।”
त्यस्तै, सांसद शर्माले संसद्मा सबैको दृष्टिकोण र बुझाइ हुन सक्ने तर त्यो ‘मेरो गोरुको अठारै टक्का’ भन्ने अडानमा संसद् जानु नहुने तर्कसमेत राखे। “प्रश्न नयाँ र पुरानोको होइन, प्रवृत्तिको हो,” उनले जोड दिए।
उनको अभिव्यक्तिमा रास्वपाको व्यवहारमा देखिएको दोहोरोपनप्रति चर्को असन्तुष्टि झल्किएको देखिन्छ।