डिल्लीबजार कारागारमा दुर्गा प्रसाईँलाई लिन सांसद सुनिल शर्मा पुगे


काठमाडौं । उच्च अदालत पाटनको आदेशपछि धरौटी बुझाएर डिल्लीबजार कारागार फर्किएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई लिन सत्तारुढ नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्मा पुगेका छन्। सोमबार साँझ धरौटी बुझाएर कारागार पुगेका प्रसाईँलाई लिन शर्मा आफैँ कारागार पुगेका हुन्।

प्रसाईँ सोमबार साँझ मात्रै बैङ्किङ कसुर र राजावादी आन्दोलनसँग जोडिएको घटनाका दुई फरक मुद्दामा अदालतले तोकेको कूल २८ लाख रुपैयाँ धरौटी बुझाएर कारागार फर्किएका थिए। अब कारागार प्रशासनले धरौटी स्वीकारेपछि बाँकी कानुनी प्रक्रिया पूरा गरेर उनलाई रिहा गर्ने तयारी भइरहेको छ।

उच्च अदालत, पाटनका दुई छुट्टाछुट्टै इजलासले प्रसाईँलाई धरौटीमा रिहा गर्न आदेश दिएका हुन्। बैङ्किङ कसुरसम्बन्धी मुद्दामा न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले २५ लाख रुपैयाँ धरौटी माग गरेको थियो भने १५ चैतको राजावादी आन्दोलनसम्बन्धी मुद्दामा न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले ३ लाख धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको हो।

यसअघि जिल्ला अदालत काठमाडौँले जेठ २९ गते प्रसाईँसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको थियो। उनीहरूविरुद्ध राज्यविरुद्धको कसुर, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव लगायतका मुद्दा दर्ता भएका थिए।

प्रसाईँको रिहाइसँगै राजनीतिक तथा सार्वजनिक वृत्तमा फेरि एक पटक उनको सक्रियता र प्रभावबारे चासो बढ्न थालेको छ। सांसद शर्माको कारागारमै उपस्थिति यस घटनालाई थप राजनीतिक र सन्देशमूलक बनाएको छ।

प्रतिक्रिया दिनुहोस्