काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले झण्डै एक दशकको प्रयासपछि नियन्त्रणमा ल्याएको वितरणतर्फको विद्युत् चुहावट फेरि बढेको छ। प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा वितरण चुहावट १०.७६ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १.१७ प्रतिशत विन्दुले वृद्धि हो।
यस वर्ष मात्रै प्राधिकरणले वितरण चुहावटका कारण झण्डै १२ अर्ब रुपैयाँ बराबरको क्षति बेहोर्नु परेको छ। चुहावटको प्रतिशतमा सामान्य देखिए पनि १२ करोड युनिटभन्दा बढी विद्युत् वितरणतर्फ चुहावट हुँदा यति ठुलो आर्थिक घाटा भएको हो।
प्राधिकरणको नेतृत्वमा हितेन्द्रदेव शाक्य फर्किएपछि वितरण प्रणाली सुधार र चोरी नियन्त्रणका लागि ठोस पहल नभएको भन्दै चर्को आलोचना भइरहेको छ। एक उच्च अधिकारीका अनुसार कार्यकारी निर्देशक शाक्यले चुहावट नियन्त्रणका लागि कुनै निर्णायक अभियान चलाएका छैनन्। “एमडीको ध्यान अभावले चुहावट पुनः वृद्धि भएको हो,” ती अधिकारीले बताए।
यता, प्राधिकरणले तथ्याङ्क संकलनका लागि प्रादेशिक कार्यालयहरूबाट संकलन गरेका विवरणअनुसार वितरणतर्फको चुहावट १२.२० प्रतिशतले वृद्धि भएको छ। यसका प्रमुख कारणहरूमा हुकिङ, मिटर रिडिङमा गडबडी, फेज छुट, प्राविधिक कमजोरी र अनुगमनको अभाव रहेका छन्।
पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा भने चुहावट उल्लेखनीय रूपमा घटाइएको थियो। सन् २०७२/७३ मा १९.८० प्रतिशत रहेको चुहावट उनले पहिलो कार्यकालमा २०७६/७७ सम्म झार्दै १०.२८ प्रतिशतमा ल्याएका थिए। त्यसका लागि उनले कर्मचारी सरुवा, फिल्ड अनुगमन, चोरी नियन्त्रण अभियान लगायतका कार्यक्रम सञ्चालन गरेका थिए।
तर, कुलमानलाई हटाएर शाक्यलाई पुनः कार्यकारी निर्देशक नियुक्त गरेपछि चुहावट नियन्त्रणमा लापरबाही भएको देखिएको छ। विद्युत् मन्त्रालयकै भूमिकामाथि समेत प्रश्न उठिरहेको छ। एक वरिष्ठ प्राधिकरण अधिकारीका अनुसार, “ऊर्जामन्त्रीको राजनीतिक दृष्टिकोणले प्राधिकरणको काम प्रभावित भयो। लोडसेडिङको असत्य प्रचारले हुकिङको प्रवृत्ति बढायो।”
चुहावटका कारण उत्पन्न नोक्सानी र गम्भीर आलोचना झेलिरहेका कार्यकारी निर्देशक शाक्यले भने तथ्याङ्क पुनरावलोकन गर्न निर्देशन दिएका छन्। यही सन्दर्भमा ग्राहक तथा वितरण सेवा निर्देशनालयका निर्देशक दीर्घायुकुमार श्रेष्ठको संयोजकत्वमा शनिवार छलफलको बैठक बोलाइएको छ। सबै प्रादेशिक प्रमुखहरूलाई उक्त बैठकमा सहभागी हुन निर्देशन दिइएको छ।
तर प्रादेशिक कार्यालयका केही प्रमुखहरूले तथ्याङ्क फेरबदल गर्न असहमति जनाएका छन्। एक जनाले भनिन्, “दिनलाई रात भन्न सकिँदैन। भोलि महालेखापरीक्षकको अडिटमा पनि यिनै तथ्याङ्क जाने हुन्।”
नेपाल विद्युत् प्राधिकरणले आउँदो भदौ १ गते आफ्नो ४० औँ वार्षिकोत्सव मनाउँदै छ। उत्सवका लागि तयारी र उपलब्धिहरूको प्रतिवेदन तयार भइरहेका बेला चुहावट बढेको तथ्याङ्क कार्यकारी निर्देशक शाक्यका लागि गम्भीर चुनौतीका रूपमा देखिएको छ।
बिजुली आपूर्तिमा सुधारको दाबी भइरहेका बेला चुहावटका यस्ता अङ्कहरूले विद्युत् प्राधिकरणको व्यवस्थापन क्षमता र पारदर्शितामाथि प्रश्न उठाइरहेका छन्। चुहावट नियन्त्रण गर्न फेरि गम्भीर पहल नलिए विद्युत् नोक्सानीसँगै ग्राहकको भरोसा पनि गुम्न सक्ने जोखिम बढेको देखिन्छ।