खनालद्वारा अध्यक्ष नेपालको शैलीमाथि ‘तानाशाही’को आरोप


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीभित्र नेतृत्व र नीति सम्बन्धी विवाद सतहमा आएको छ। पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालमाथि गम्भीर आरोप लगाउँदै ‘तानाशाही शैली’ अपनाएको टिप्पणी गरेका छन्।

पछिल्लो समय सार्वजनिक अभिव्यक्तिको आदान–प्रदानले दुई शीर्ष नेताबिचको मतभेद थप चर्किएको देखिएको छ। झलनाथ खनालले हालै एक टेलिभिजन अन्तर्वार्तामा एमाले त्यागेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको धारणा राखेपछि, अध्यक्ष नेपालले विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रतिवाद गरेका थिए। उनले खनालप्रति संकेत गर्दै पार्टी नछोड्न आग्रह गर्नुभन्दा पनि “पार्टी छोडेर जान सक्ने” अभिव्यक्ति दिएका थिए।

अध्यक्ष नेपालको सार्वजनिक जवाफपछि नेता खनालले कडा प्रतिक्रिया जनाएका छन्। उनले नेपालको भनाइलाई “अशोभनीय, गैर-जिम्मेवार र तानाशाही प्रवृत्तिको” करार दिएका छन्। खनालले भने, “पार्टीको नेतृत्व गर्ने व्यक्तिले यस्तो भाषा प्रयोग गर्नु अत्यन्तै आपत्तिजनक हो। यदि मेरो भनाइप्रति असहमति थियो भने पार्टी बैठक बोलाएर छलफल गर्न सकिन्थ्यो, तर सार्वजनिक आदेशजस्तो गरी बोल्नु नेतृत्वको अधिनायकवादी सोच देखिन्छ।”

खनालले पार्टीभित्र रचनात्मक आलोचना, बहस र आत्मसमीक्षाको वातावरण खुम्चिन थालेको संकेत पनि गरे। उनले अध्यक्ष नेपालको शैलीले असहमतिलाई दबाउने प्रयास गरिरहेको टिप्पणी गर्दै भने, “पार्टीको उद्देश्यप्रति प्रश्न उठाउँदा त्यही आधारमा पार्टी छाड्न भन्नु भनेको लोकतान्त्रिक अभ्यासको अपमान हो।”

पार्टीको वर्तमान अवस्थामाथि टिप्पणी गर्दै खनालले जनताका पक्षमा प्रभावकारी काम गर्न नसकेको स्वीकार गर्दै आत्मालोचना आवश्यक रहेको उल्लेख गरे। तर उनले त्यस्तो मूल्यांकनलाई असहिष्णुताको रूपमा बुझ्ने नेतृत्वप्रति कटाक्ष गर्दै प्रश्न उठाए, “मैले जनताको काम गर्न सकिएन भनेको भरमा पार्टी छोड्नु पर्ने हो भने, प्रश्न गर्नेलाई आदेश दिनेले कस्तो तानाशाह बन्न खोजेको हो?”

एकीकृत समाजवादीभित्रको यस प्रकारको सार्वजनिक विवादले पार्टीको आन्तरिक एकता र आगामी राजनीतिक कदममाथि प्रश्न उठेको छ। यद्यपि, दुवै नेताले पार्टी नीतिको पालना गर्ने र अन्तिम निर्णय पार्टी बैठकबाट नै लिइने धारणा व्यक्त गरे पनि, पछिल्ला घटनाक्रमले तीव्र असमझदारी सार्वजनिक रूपमा उजागर भएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, पार्टी नेतृत्वभित्रैको असहमति यदि संयमपूर्वक समाधान नगरिए भविष्यमा दलभित्र थप विभाजनको जोखिम समेत देखिन सक्छ। अबको अवस्था के मोड लिन्छ भन्नेमा सबैको ध्यान एकीकृत समाजवादीको नेतृत्व तहमा केन्द्रित हुन थालेको छ।

प्रतिक्रिया दिनुहोस्