विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालमाथि कडा टिप्पणी गर्दै उनलाई पार्टी नीति विपरीत अभिव्यक्ति दिएको आरोप लगाएका छन्। शुक्रवार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले खनाललाई “राजीनामा दिएर पार्टीबाट बिदा लिन” सुझाव दिएका हुन्।
विराटनगरमा आयोजित कार्यक्रममा पत्रकारहरूले ‘झलनाथ खनालले एमाले टुक्र्याउनु गलत भएको बताएका छन्’ भन्ने प्रश्न उठाएपछि नेपालले त्यस विषयमा गम्भीर प्रतिक्रिया जनाए। उनले खनालले पटक–पटक पार्टीको संस्थागत निर्णयको अवज्ञा गर्दै आएको आरोप लगाउँदै यस्तो व्यवहार गर्ने व्यक्तिसँग पार्टीमा बस्ने नैतिक आधार नरहेको उल्लेख गरे।
नेपालले खनालको भनाइप्रति आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिँदै भने, “अचेल त एआईको जमाना छ, नबोलेको कुरा पनि बोलेजस्तो बनाइन्छ।” तर यदि खनालले साँच्चिकै त्यसो भनेका हुन् भने, उनको पार्टीमा रहने औचित्य नरहेको उनले दोहोराए।
अध्यक्ष नेपालले पार्टीभित्र निर्णय नमान्ने नेताहरूको सूचीमा झलनाथ खनाल पहिलो नम्बरमा पर्ने दाबी गर्दै, पार्टी अनुशासन उल्लङ्घन गर्नेहरूलाई सङ्गठनमा स्थान दिन नहुने तर्क गरे। उनले पार्टी नेतृत्वले गरेका निर्णयहरू संस्थागत हुने भएकाले व्यक्तिगत सोचका आधारमा अभिव्यक्ति दिँदा सङ्गठन कमजोर हुने धारणा व्यक्त गरे।
समसामयिक राजनीतिक विषयमा प्रतिक्रिया दिँदै उनले माओवादी केन्द्रसँग समाजवादी मोर्चाको सहकार्यलाई निरन्तरता दिने र दुई पार्टीबिच विश्वासको आधारमा सम्बन्ध बलियो बनाउने छलफल भइरहेको बताए। पत्रकारहरूको प्रश्नमा जवाफ दिँदै उनले पूर्व राष्ट्रपति तथा उपराष्ट्रपतिहरूको राजनीतिमा पुनः प्रवेशका विषयमा संविधानले रोक नलगाएकाले त्यो उनीहरूको व्यक्तिगत निर्णय हुने बताए।
सत्ता गठबन्धनको समीकरणबारे बोल्दै उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली एकै ठाउँमा रहेसम्म वैकल्पिक सरकारको सम्भावना नरहेको जिकिर गरे। उनले अहिले पार्टी एकीकरणको औपचारिक छलफल नभएको बताउँदै, सहकार्य र मोर्चाको विषय मात्रै अगाडि बढाइएको जानकारी दिए।
सरकारप्रति आक्रोश व्यक्त गर्दै अध्यक्ष नेपालले वर्तमान सत्ता गठबन्धनलाई “सबै हिसाबले असफल सरकार” को संज्ञा दिए। उनले पूर्व प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै भने, “एक व्यक्तिको अहङ्कार र दम्भका कारण देश पीडित बनेको छ।”
आफूमाथि लागेको भ्रष्टाचारको मुद्दाबारे पनि उनले कडा प्रतिक्रिया दिए। त्यो मुद्दा राजनीतिक पूर्वाग्रह र प्रतिसोधबाट प्रेरित भएको दाबी गर्दै उनले कुनै गैरकानुनी काम नगरेको बताए। “माथि मात्रै होइन, तलदेखि माथिसम्मको सम्पूर्ण प्रक्रिया मन्त्रालय, सचिव, उपसचिव, मन्त्री, क्याबिनेट सबैको सहमतिमा भएको हो,” भन्दै उनले आफूले कुनै एक पैसा पनि तलमाथि नगरेको जिकिर गरे।
नेपालले संविधान, कानुन र ऐन अनुसार सबै कामहरू प्रक्रिया पुर्याएर भएको भन्दै आफूमाथिको मुद्दा राजनीति प्रेरित भएको पुष्ट्याइ गरे।