पार्टीभित्र व्यक्तिगत कुराले असमझदारी बढाउनु हुँदैन : डा. आरजु राणा देउवा


पोखरा । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा त हुनु स्वाभाविक भए पनि व्यक्तिगत कुराका कारण संगठनमा असमझदारी बढाउनु नहुने स्पष्ट धारणा राखेकी छन्। बिहीबार पोखरामा नेपाली काँग्रेस कास्कीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टीको बलियो संरचना निर्माणका लागि एकताको भावना जरुरी रहेको बताइन्।

उनले पार्टी संगठनलाई व्यक्तिगत महत्वाकांक्षा पूरा गर्ने थलो नभई राष्ट्र र समाजका लागि योगदान गर्ने संस्थाका रूपमा परिभाषित गरिन्। पार्टीका संस्थापक नेताहरू वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतले पु¥याएको योगदानलाई स्मरण गर्दै देउवाले तिनै नेताहरूको मार्गदर्शन अनुसरण गर्दै पार्टीले अगाडि बढ्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा बोल्दै देउवाले पार्टीलाई बलियो बनाउन सबै नेताकार्यकर्ताको बोली, आचरण र व्यवहारले प्रभाव पार्ने उल्लेख गर्दै व्यक्तिगत रूपमा कसैलाई प्राथमिकता र कसैलाई उपेक्षा गर्नु अनुचित हुने धारणा राखिन्। आगामी १५औँ महाधिवेशनमा स्वाभाविक रूपमा प्रतिस्पर्धा हुने भए पनि त्यसबाट पार्टीमा फुट आउने गरी व्यवहार नहुन आग्रह गरिन्।

उनले सामाजिक सञ्जालको भूमिकातर्फ पनि संकेत गर्दै वर्तमान समयमा नयाँ राजनीतिक दलहरू डिजिटल प्लेटफर्मको उच्च प्रयोगमा देखिएको उदाहरण दिइन्। त्यसकै सन्दर्भमा काँग्रेसले पनि सामाजिक सञ्जाललाई सकारात्मक ऊर्जा प्रवाह गर्ने माध्यमका रूपमा प्रयोग गर्नुपर्ने आवश्यकतामा जोड दिइन्।

पछिल्ला दिनहरूमा मुलुकमा केही पनि नभएको भन्ने नकारात्मक धारणा फैलाउने प्रयास भएको उनको भनाइ थियो। उनले यस्तो धारणा परिवर्तन गर्दै युवालाई निराश होइन, आशावादी बनाउने खालको सन्देश दिनुपर्नेमा जोड दिइन्। युवा पलायनको बढ्दो प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै उनले युवाहरूले देशमै अवसर खोजेर योगदान दिनुपर्ने आवश्यकता औँल्याइन्।

प्रतिक्रिया दिनुहोस्