मकवानपुर । बागमती प्रदेशसभामा नेपाली काँग्रेस संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति गठन गरिएको छ । काँग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको मंगलबार हेटौँडामा बसेको बैठकले प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।
निर्वाचन समितिमा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य रहेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएपछि नयाँ नेताको चयन गर्न निर्वाचन प्रक्रिया अघि बढाइएको हो ।
लामाविरुद्ध प्रदेश संसदीय दलमा दर्ता भएको अविश्वास प्रस्तावमाथि मंगलबार मतविभाजन हुँदा उनका पक्षमा १५ मात्र सांसद देखिए । अर्कोतर्फ इन्द्रबहादुर बानियाँको पक्षमा २२ सांसदको बहुमत जुटेको थियो ।
काँग्रेसको बागमती प्रदेशसभामा हाल ३७ सांसद छन् । नेतृत्वको विवाद चुलिएपछि काँग्रेस प्रदेश सभापति समेत रहेका सांसद बानियाँले लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । विशेष कुरा के हो भने, मुख्यमन्त्री लामा र बानियाँ दुवै नेता पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।
नयाँ नेता चयनपछि बागमती प्रदेशको सत्ता समीकरण फेरिने सम्भावना बढेको छ भने काँग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलनमा पनि प्रभाव पर्नसक्ने आँकलन गरिएको छ ।