पूर्वप्रदेश प्रमुख राजेश अहिराजविरुद्ध बलात्कार अभियोगमा मुद्दा दायर


काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झाविरुद्ध बलात्कार अभियोगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ । साउन ४ गते पक्राउ परेका झाविरुद्ध प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले मङ्गलवार अदालतमा अभियोग दर्ता गरेको हो ।

अहिराजमाथि २०८१ जेठ ४ गते नयाँ बानेश्वरस्थित एक डेरा कोठामा पुरानो चिनजानको आधारमा प्रवेश गरी बलात्कार गरेको आरोप छ । पीडितका अनुसार घटनाको समयमा उनी कोठामा एक्लै थिइन् ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ अन्तर्गत दफा २१९ को उपदफा २ को खण्ड (ङ) बमोजिम ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय माग गरिएको छ भने उपदफा ३ क को खण्ड (ग) अनुसार ३ लाख रुपैयाँ जरिवानाको मागदाबी पनि गरिएको छ । प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानपछि झालाई नियन्त्रणमा लिएको थियो भने हाल उनी पुर्पक्षका लागि थुनामा छन् । अदालतले अब मुद्दा दर्ता गरेसँगै थुनछेक बहसमा जाने तयारी गरिरहेको छ ।

यस प्रकरणले पूर्व प्रदेश प्रमुखजस्तो पदमा रहेका व्यक्तिको नैतिक धरातल र सार्वजनिक जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्