प्रतिबन्धित लागू औषधीसहित केराबारीका एक मेडिकल सञ्चालक पक्राउ


मोरङ । मोरङको केराबारी गाउँपालिका–७ मा रहेको मुगु मेडिकलका सञ्चालक मनिष कुँवरलाई प्रतिबन्धित लागू औषधीसहित प्रहरीले पक्राउ गरेको छ । बेलबारी नगरपालिका–८ निवासी २८ वर्षीय कुँवरलाई साउन १३ गते बिहान प्रहरीले विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय केराबारी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले मुगु मेडिकलमा खानतलासी गर्दा डिकोलिक ४ हजार ५ सय ट्याब्लेट र ट्रामाडोल ४ हजार ५ सय ट्याब्लेट लुकाइछिपाई राखेको अवस्थामा फेला पारेको थियो ।

प्रतिबन्धित औषधिहरूको कारोबार भइरहेको गुप्त सूचनाको आधारमा गरिएको छापामारीपछि कुँवरलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । हाल उनीमाथि आवश्यक अनुसन्धान कार्य जारी रहेको इलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ ।

प्रहरीका अनुसार मेडिकल सञ्चालनको आडमा गैरकानुनी औषधि कारोबार गर्नेहरूको गतिविधिमा निगरानी बढाइएको छ । स्थानीयवासीले पनि यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई सहकार्य गर्न आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्