माओवादी केन्द्र निकट विद्यार्थी नेताहरूबिच झगडा : प्रदेश इन्चार्ज भट्ट गम्भीर घाइते


कञ्चनपुर । कञ्चनपुरमा नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनका नेताहरूबिच भएको झगडामा सुदूरपश्चिम प्रदेश इन्चार्ज रामचन्द्र भट्ट गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भट्टको टाउकोमा गहिरो चोट लागेर सात टाँका लगाइएको छ। घाइते भट्टको अहिले धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार विद्यार्थी संगठनको आन्तरिक छलफलका क्रममा विवाद चर्किएपछि झगडा भएको हो। कुटपिट गर्ने आरोपमा माओवादी केन्द्रका कार्यकर्ता भुवन सिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विष्ट कञ्चनपुरको वेदकोट नगरपालिका–८ निवासी हुन्।

घटनापछि माओवादी केन्द्र जिल्ला समन्वय समिति कञ्चनपुरले विष्टलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको छ। कारबाही पत्रमा उल्लेख गरिएअनुसार विष्टले पटक–पटक अनुशासनहीन कार्य गर्दै आए पनि पार्टीको चेतावनीको अटेरी गरेका थिए। आजको दिन विद्यार्थी संगठनको छलफलको क्रममा पूर्व रिसीवी पोख्दै प्रदेश इन्चार्ज भट्टमाथि मरणासन्न हुने गरी आक्रमण गरेपछि तत्काल प्रभावले निष्कासन गरिएको जनाइएको छ।

कारबाही पत्रमा उल्लेख गरिएको छ, “यस्ता अराजक गतिविधि गर्ने उद्दण्डता मच्चाउने भुवन सिंह विष्टलाई तत्काल नियन्त्रणमा लिई कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई अनुरोध गर्दछौँ। साथै गम्भीर घाइते कमरेड रामचन्द्र भट्टलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।”

पार्टी भित्रैको आन्तरिक विवादले हिंसात्मक रूप लिएको यस घटनाले विद्यार्थी सङ्गठनभित्रको अनुशासन र व्यवस्थापनप्रति प्रश्न उठाएको छ।

प्रतिक्रिया दिनुहोस्