भोलिदेखि दैनिक ६ घण्टा लोडसेडिङ : चनौली वितरण केन्द्रद्वारा तालिका सार्वजनिक


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर क्षेत्रका लागि दैनिक ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ। दैनिक विद्युत् माग अत्यधिक बढेको र प्राविधिक संरचना त्यसअनुसारको नहुनाले लोडसेडिङ गर्नुपरेको प्राधिकरणले जनाएको छ।

सिँचाइको मौसम, अत्यधिक गर्मी, र आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको माग अप्रत्याशित रूपमा बढेको र यसले वितरण क्षमतामाथि दबाब पारेको केन्द्रको भनाइ छ। चनौली वितरण केन्द्र अन्तर्गत भरतपुरस्थित १३२/३३ के.भि. सबस्टेशनबाट सञ्चालनमा रहेको ३३ के.भि. डग कन्डक्टर तारमा अधिकतम ३०० एम्पिएरसम्म मात्र विद्युत् प्रवाह गर्न मिल्ने क्षमता छ। तर हाल सोही लाइनमार्फत ४५० एम्पिएरभन्दा बढी प्रवाह हुन थालेपछि लाइन क्षतिग्रस्त हुने जोखिम बढेपछि लोडसेडिङको तालिका लागू गरिएको हो।

वितरण केन्द्रले यस समस्याको दीर्घकालीन समाधानका लागि अघिल्लो आर्थिक वर्षमै बसेनी सबस्टेशनबाट वैकल्पिक ३३ के.भि. प्रसारण लाइन निर्माणको प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ। हाल निर्माणाधीन अवस्थामा रहेको सो प्रसारण लाइन सम्पन्न भएपछि समस्या समाधान हुने विश्वास लिइएको छ। प्राधिकरणले उपभोक्ताहरूलाई आवश्यक सहयोग र धैर्य गर्न अनुरोध गर्दै लोडसेडिङ तालिका कार्यान्वयनमा सहयोग पुर्‍याउन अपिल गरेको छ। केन्द्रले सार्वजनिक गरेको तालिका भोलि (साउन ११ गते) देखि लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस्