काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको नेपालमा राजतन्त्र र निरंकुश सत्ता भन्दा ठूलो खतरा दलाल पुँजीवादी संरचना र नोकरशाही पुँजीवाद रहेको दाबी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समकालीन नेपाली समाजमा मुख्य चुनौती केही मुठीभर दलाल पुँजीपति र बिचौलिया समूहबाट आएको बताए। उनका अनुसार, “राजतन्त्र अहिलेको मुख्य दुश्मन होइन, उठ्ने प्रयास भए पनि त्यो अब उठ्ने अवस्था छैन”, भन्दै उनले सामन्ती शासन व्यवस्था मुख्य चुनौतीको रूपमा नरहेको स्पष्ट पारे।
अध्यक्ष प्रचण्डले वर्तमान राजनीतिक–आर्थिक संरचनामा दलाल पुँजीवादी प्रवृत्तिको वर्चस्व बढ्दै गएको बताउँदै भने, “नेपालको अर्थतन्त्र, विकास प्रक्रिया केही मुठीभर दलाल पुँजीपति र बिचौलियाहरूको कब्जामा पुगेको छ ।” उनले यो प्रवृत्ति नै समृद्ध नेपाल निर्माणको मुख्य बाधक भएको जिकिर गरे।
“आजको विकास र समृद्धिको यात्रामा नोकरशाही पुँजीवाद नै मुख्य अवरोध हो,” भन्दै उनले राज्य संयन्त्रभित्रै रहेका शक्तिशाली घेराहरूले जनताको सपना र सम्भावनालाई दबाउँदै आएको आरोप लगाए। प्रचण्डले संघीय निजामति सेवा विधेयकमाथि भएको चलखेलको पनि आलोचना गर्दै सो विधेयकले सबै सांसदको गरिमा अपमानित गरेको बताए।
“संघीय निजामति विधेयकमा सबै सांसद अपमानित हुने गरी छेडखानी कसले गर्यो?” भन्दै उनले विधेयक निर्माणको प्रक्रिया शंकास्पद रहेको संकेत गरे। कार्यक्रममा उनले अदालतदेखि कर्मचारीतन्त्रसम्म भ्रष्टाचार मौलाएको टिप्पणी गर्दै यसविरुद्ध सबैले मिलेर संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याए। उनको भनाइमा, “सुधारको नाममा हुँदै आएको छेडछाड, चलखेल, र दलाली संरचनाविरुद्ध जनताको हितमा स्पष्ट रणनीति आवश्यक छ ।”