पार्टी सदस्यताबाट वञ्चित गर्ने निर्णय अनुचित र अपरिपक्व : पूर्वराष्ट्रपति भण्डारी


काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरणको विषयलाई लिएर पार्टीले गरेको निर्णयप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन्। बिहीबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमार्फत उनले आफूले विधिपूर्वक पार्टी सदस्यता नवीकरण गरिसकेको र पार्टी निर्माणको लामो योगदान रहेको बताउँदै, आफूमाथि गरिएको व्यवहार अन्यायपूर्ण र असंवैधानिक भएको दाबी गरेकी हुन्।

पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेपछि सामाजिक, राजनीतिक र अन्तर्राष्ट्रिय विषयमा अध्ययन गर्दै आएको र आफ्ना भावी योजनाबारे उपयुक्त समयमा जानकारी दिने भनाइ पटक–पटक राखे पनि अन्ततः एमालेमै आबद्ध भएर अघि बढ्ने निर्णय लिएको उल्लेख गरेकी छन्। उनका अनुसार, असार १४ गते जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा आफूले एमालेको सदस्यता नवीकरण गरेको सार्वजनिक रूपमा घोषणा गरेकी थिइन्। तर पछिल्ला दिनमा केन्द्रीय कमिटीको बैठकमा आफ्नो सदस्यता नवीकरण अमान्य गरिएको समाचार सञ्चारमाध्यम, नेता र सामाजिक सञ्जालमार्फत थाहा भएको बताउँदै उनले यस्तो निर्णय “वास्तविकता र विधिको मर्मविपरीत” भएको उल्लेख गरेकी छन्।

भण्डारीले भनेकी छन्, “वास्तवमा मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै होइन।” उनले आफू पार्टीमा कुनै पदको आकांक्षाविहीन रूपमा सक्रिय रहने र पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउँदै देश र जनताको सेवा गर्ने प्रतिबद्धता जनाएकी छन्। उनले संविधानले प्रत्याभूत गरेको राजनीतिक दलमा आबद्ध हुने मौलिक हकलाई कुण्ठित गर्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएकी छन्। उनले भनिन्, “राजनीतिमा संलग्न हुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई सङ्कुचन वा नियन्त्रण गर्ने गरी गरिएका अपरिपक्व निर्णयले मलाई दुःखित तुल्याएको छ।”

भण्डारीले यस्तो निर्णयले पार्टीको साख र राजनीतिक परिपक्वता नै खतरामा पार्ने दाबी गर्दै जनताको बहुदलीय जनवाद (जबज) को मर्म अनुसार विवेकसम्मत निर्णय आवश्यक रहेको औँल्याएकी छन्। “म पार्टीमा ४५ वर्षदेखि आबद्ध छु। राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर अब बाँकी जीवन पनि राजनीतिमा नै लगाउने सङ्कल्प लिएको छु,” विज्ञप्तिमा भनिएको छ, “पार्टी निर्माणमा योगदान पुर्‍याएका हजारौँ नेता, कार्यकर्ता र सदस्यहरूको पसिना र मिहिनेतलाई म सम्मान गर्छु।”

जननेता मदन भण्डारीद्वारा प्रतिपादित जबज सिद्धान्तले देशमा समाजवादको आधार निर्माण गर्ने भन्दै उनले पार्टीका सम्पूर्ण पंक्तिलाई निष्ठापूर्वक अगाडि बढ्न आव्हान गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्