चितवन । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संस्थापक नेता बीपी कोइरालाप्रति सच्चा सम्मान व्यक्त गर्नका लागि अँध्यारोबाट उज्यालोको बाटोमा संघर्ष गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस भरतपुर महानगरपालिका–११ ले आयोजना गरेको वडा कार्यालय तथा बीपी स्मृति भवन उद्घाटन समारोहमा आइतबार चितवनमा बोल्दै महामन्त्री थापाले बीपीले जनताका लागि गरेका संघर्ष अहिले पनि प्रेरणादायी रहेको बताए ।
“बीपीले केवल आफ्नो लागि होइन, जनताको लागि सोचेका कारण उहाँ संघर्षमा होमिनुभएको हो,” उनले भने, “त्यसरी नै हामी पनि जनताको पक्षमा संघर्ष गर्न जरुरी छ ।” महामन्त्री थापाले नेपाली कांग्रेसभित्र अझै पनि बीपीको सोचअनुसार अघि बढ्न नसकिएको आत्मग्लानी रहेको उल्लेख गर्दै भने, “कांग्रेसीको मनभित्र भएको भय यही हो — हामी बीपीले देखाएको बाटोमा हिँड्न सकेनौं भन्ने । त्यसैले अब त्यो जिम्मेवारी पूरा गर्ने दायित्व तपाईं–हामी सबैको हो ।”
उनले नेपाली कांग्रेसले राजतन्त्रदेखि गणतन्त्रसम्मका प्रत्येक परिवर्तनमा आफ्नो भूमिका निभाउँदै आएको स्मरण गराउँदै भने, “जिम्मेवारीको हिसाबले कांग्रेस सधैं सही ठाउँमै छ । बीपीको विचारसहित हामीले गरेका कामहरूको प्रचार गरौं ।” महामन्त्री थापाले नेपाली कांग्रेस र एमाले मिलेर बनेको वर्तमान शक्तिशाली सरकार गठन भएको एक वर्ष खेर गएको टिप्पणी पनि गरे । उनले भने, “हामीले सरकारको सुरुवात राम्रो गर्यौं । तर त्यसपछि सरकार टिक्यो भने हामीलाई पुग्यो भन्ने मानसिकताले पछिल्ला ६–७ महिना उपलब्धिहीन बनायो ।”
उनले सरकारभित्र कुनै खटपट नभएको स्पष्ट पार्दै अब बाँकी समय गुम्न नदिन सत्ता साझेदार सबै गम्भीर हुनुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठले कांग्रेसभित्रको एकता अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै एकताले मात्र विपक्षीलाई कमजोर बनाउन सकिने धारणा राखे ।
त्यसैगरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू उमा रेग्मी, मधु आचार्य, टेकप्रसाद गुरुङ, अञ्जनी श्रेष्ठलगायतले युवाहरूले बीपीको विचारलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, नेपाल तरुण दलका केन्द्रीय सदस्य निर्मल पौडेल, कांग्रेस चितवनका प्रवक्ता ज्ञानेन्द्र कार्की लगायतले बीपीको योगदान र कांग्रेसको भावी बाटोबारे धारणा राखेका थिए ।
विसं २०७७ मा निर्माण थालिएको बीपी स्मृति भवन औपचारिक रूपमा उद्घाटन गरिएको छ । स्व. मैयादेवी श्रेष्ठले प्रदान गरेको १५ कट्ठा जग्गामा करिब रु ६६ लाख ३५ हजार लागतमा सो भवन निर्माण सम्पन्न गरिएको हो ।