भक्तपुर । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निजामति सेवा विधेयकमा उल्लेखित ‘कुलिङ पिरियड’ हटाउने प्रयास भए नेपाली कांग्रेस सरकारमा बसिरहने पक्षमा नरहने स्पष्ट चेतावनी दिएका छन् । नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले बिपी स्मृति दिवसका अवसरमा सोमबार भक्तपुरको मध्यपुरथिमिमा आयोजना गरेको विचार गोष्ठी तथा नेपाल तरुण दल मध्यपुरथिमि नगर समितिको अधिवेशन उद्घाटन गर्दै महामन्त्री शर्माले यस्तो चेतावनी दिएका हुन् ।
‘कुलिङ पिरियड’का सन्दर्भमा राज्य व्यवस्था समितिको सिफारिसविपरीत काम भए सरकारका विषयमा सोच्न कांग्रेस बाध्य हुने स्पष्ट पार्दै उनले भने, “कुलिङ पिरियडका सम्बन्धमा जसले जेसुकै गरे पनि कारबाही हुन्छ । दुई वर्षको सट्टा साढे दुई वर्ष बन्न सक्छ, तर हट्दैन । राष्ट्रियसभाबाट यसको समाधान हुन्छ । प्रधानमन्त्रीको निर्देशनमा कुलिङ पिरियड हटाउने प्रयास भएमा कांग्रेसले यो सरकारलाई बचाइ राख्दैन ।”
महामन्त्री शर्माले भूमि विधेयकसम्बन्धी विषयमा भने छलफल भइरहेकाले समितिमा लैजाँदै व्यापक सहमतिमा आधारित भएर अघि बढाइने जानकारी दिए । कार्यक्रममा महामन्त्री शर्माले देश अझै पनि बीपी कोइरालाको देखाएको बाटोमै अघि बढिरहेको उल्लेख गर्दै बीपीको नीति सबैले आत्मसात् गर्नुपर्ने धारणा राखे । “देशले बीपीलाई र उहाँका विचारलाई राम्रोसँग बुझेको भए आजको अवस्था आउने थिएन,” उनले भने, “दश वर्षे द्वन्द्व, राजतन्त्रको अन्त्य र पछिल्ला समस्या बीपीका मार्गदर्शन अनुरूप अघि बढेको भए घट्दैनथ्यो ।”
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर सभापति तथा प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले अफवाह, भ्रम र चुनौतीबीच एकताबद्ध भएर आगामी २०८४ सालको निर्वाचनमा कांग्रेसलाई पहिलो बनाउने लक्ष्यसहित अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रम नेपाली कांग्रेस मध्यपुरथिमि नगर सभापति हरिदास प्रजापतिको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कांग्रेस भक्तपुरका पूर्व सभापति गणेशमान चक्रधर, महेश श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, कांग्रेस मध्यपुरथिमि नगर उपसभापति अनिल श्रेष्ठलगायतले आ-आफ्ना धारणा राखेका थिए ।