विद्या भण्डारीको सदस्यता नवीकरण छैन : ओली


काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे स्पष्ट पारेका छन्। शुक्रवार बसेको एमाले पोलिटब्युरो बैठकमा बोल्दै अध्यक्ष ओलीले भण्डारीको सदस्यता हालसम्म नवीकरण नभएको बताएका हुन्।

‘विद्यादेवी भण्डारीको सदस्यता नवीकरण भएको छैन,’ बैठकमा सहभागी एक सदस्यका अनुसार ओलीले भने, ‘यो विषयमा पार्टीले विधिसम्मत छलफल गरेर निर्णय गर्नेछ।’ अध्यक्ष ओलीका अनुसार भण्डारी सक्रिय राजनीतिमा फर्कनु हुँदैन भन्ने विश्वासका साथ उनलाई दोस्रो कार्यकालका लागि राष्ट्रपति बनाइएको थियो। ‘उहाँप्रतिको विश्वासकै आधारमा पार्टीले जिम्मेवारी दिएको थियो,’ ओलीले बैठकमा बताएका छन्।

बैठकमा ओलीले पार्टीभित्र फैलिएको अराजक गतिविधि तत्काल रोक्नुपर्ने धारणा राखेका थिए। पार्टी संगठनमाथि अहिलेभित्रदेखि हमला हुन थालेको भन्दै उनले यसलाई रोक्नुपर्ने चेतावनी दिएका छन्। ‘पार्टीभित्रबाट बबण्डर उठाउने प्रयास गलत हो, यो रोकिनै पर्छ,’ ओलीले भनेका छन्।

अध्यक्ष ओलीले भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा आफूले मिडियाबाट थाहा पाएको बताए। उनले संवैधानिक व्यवस्था अनुसार भण्डारीले सक्रिय राजनीति नगर्नुपर्ने जिम्मेवारी रहेको बताएका छन्। ओलीले पार्टी विधान र प्रक्रियाबारे नानाथरी धारणा बाहिर राख्दै हिँड्नेलाई समेत लक्षित गर्दै आलोचना गरेका छन्। उनले पार्टीभित्र छलफल हुने विषय सार्वजनिक रूपमा विवादित बनाउनु उचित नभएको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्