सत्ता हस्तान्तरणको दिन गनेर नबस्न ओलीलाई गगन थापाको आग्रह


काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता हस्तान्तरणको दिन गनेर नबस्न सुझाव दिएका छन्।

बिहीबार नेपाली काँग्रेस केन्द्रीय कार्यालय, सानेपामा आयोजित युवा केन्द्रित आर्थिक नीति तथा योजना विषयक संवाद गोष्ठीमा बोल्दै थापाले, सरकार अब दिन गनेर बस्ने होइन, जनताले अनुभूति गर्ने गरी काम गरेर देखाउनुपर्नेमा जोड दिए।

थापाले प्रधानमन्त्री ओलीले पटक–पटक “अब एक वर्ष म, त्यसपछि काँग्रेस” भन्दै सत्ता हस्तान्तरणका कुरा गरे पनि अहिले त्यो शैली अनुचित भइसकेको टिप्पणी गरे। “सरकार भनेको दिन गनेर बस्ने हो र?” भन्दै थापाले आगामी २०८४ सम्मका हरेक दिन जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्ने धारणा राखे।

महामन्त्री थापाले काँग्रेस अहिले देशकै ठुलो दल भएकाले र सरकारमा रहेकाले यो समय खेर फाल्न नहुने स्पष्ट पारे। उनले स्थानीय तहदेखि प्रदेश र केन्द्र सरकारसम्म प्रभावकारी काम गरेर जनविश्वास जित्नुपर्नेमा जोड दिए।

सरकारको सुरुवात राम्रै भए पनि अहिले अवस्था बरालिएको भन्दै, उनले राजनीतिक नेतृत्व र सरकार दुबैलाई जिम्मेवार ढङ्गले अगाडि बढ्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्