काठमाडौं । पोखरामा व्यक्तिको नाममा जग्गा दर्ता गर्न गरिएको चलखेलमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ३२ लाख रुपैयाँ घुस लिएको दाबीसहितको नयाँ अडियो सार्वजनिक भएको छ। १३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउन खोजिएको प्रकरणसँग जोडिएको उक्त अडियोमा मन्त्री अधिकारी, सामान्य प्रशासन मन्त्री पदबाट भर्खरै राजीनामा दिएका राजकुमार गुप्ता, सामान्य प्रशासनका तत्कालीन सचिव अर्जुन पोखरेल र मन्त्री अधिकारीका छोरा मनोज अधिकारीको नाम सुनिन्छ।
अडियोमा मन्त्री अधिकारीले उक्त रकम छोरामार्फत लिएको उल्लेख छ भने गुप्ताले ३५ लाख र सचिव पोखरेलले ५ लाख लिएको दाबी गरिएको छ। त्यस्तै, जग्गा मिलाउन करिब डेढ करोड रुपैयाँ खर्च भइसकेको उल्लेख अडियो संवादमा छ। यसअघि सार्वजनिक भएको अडियोमा पनि मन्त्री अधिकारीको नाम उल्लेख भएको थियो। तर, प्रतिनिधि सभामा मन्त्री अधिकारीले आफू दोषी नरहेको दाबी गर्दै, “जुन औँलामा विष लागेको हो त्यही झर्छ” भनेका थिए।
पछिल्लो सार्वजनिक अडियोमा राजीनामा दिएका गुप्ता, खेम पुन, दीपा लगायतका नामहरू पुनः सुनिन्छन्। अडियोमा गुप्तासँग गरिएको संवादमा जग्गा दर्तामा लागेका व्यक्तिहरूले मन्त्री अधिकारीसँगको भेट र उनले ‘सामान्यले फालेपछि म काम गर्छु’ भनेको दाबी गरिएको छ। अडियोमा तत्कालीन सचिव पोखरेल पोखराको नयाँबजारस्थित होटेलमा बस्दा उनलाई दुई वटा वन कुखुरा, १० हजारको सामग्री, दुई बोतल ह्विस्की र पाँच लाख रुपैयाँ बुझाइएको प्रसङ्ग पनि समावेश गरिएको छ।
यो प्रकरण सार्वजनिक भएसँगै मन्त्री अधिकारीमाथि थप दबाब बढेको छ भने सरकारले यसबारे आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन।