साफ महिला यु–२० च्याम्पियनसिपमा नेपालको शानदार सुरुवात : भुटानमाथि ६–१ को जित


ढाका । साफ महिला यु–२० च्याम्पियनसिपमा नेपालले प्रभावशाली प्रदर्शन गर्दै भुटानलाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। ढाकास्थित बसुन्धरा किंग्स एरिना रंगशालामा भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालकी फरवार्ड पूर्णिमा राईले ह्याट्रिकसहित चार गोल गर्दै टोलीको जीतमा महत्वपूर्ण भूमिका निर्वाह गरिन्।

नेपालले खेलको शुरुवातदेखि नै आक्रामक खेल देखाएको थियो। खेलको नवौं मिनेटमै सेनु परियारले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। त्यसपछि १८औँ मिनेटमा वर्षा ओलीको दायाँपट्टिबाट आएको क्रसमा पूर्णिमा राईले दोस्रो बारबाट गोल गर्दै स्कोर २–० बनाइन्। १५औँ मिनेटमा सेनुले पूर्णिमालाई दिएको पासमा गरिएको गोल अफसाइड ठहरिएको थियो।

पहिलो हाफको अतिरिक्त समयमा सेनुले पुनः एक गोल थप्दै नेपाललाई ३–० को सशक्त अग्रता दिलाइन्। दोस्रो हाफको ५४औँ मिनेटमा भुटानकी केल्डेन वाङ्मोले नेपाली डिफेन्सको कमजोरीको फाइदा उठाउँदै एक मात्र गोल फर्काइन्।

नेपालका लागि खेलको ६२औँ मिनेटमा पूर्णिमा राईले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरिन्। त्यसपछि मिना देउबाको ८२औँ मिनेटको पासमा सेनुले अग्रसरता बनाइन् भने ८४औँ मिनेटमा पूर्णिमाले ह्याट्रिक पूरा गर्दै स्कोर ५–१ मा पुर्‍याइन्। उनले खेलको ८८औँ मिनेटमा व्यक्तिगत चौथो तथा नेपालका लागि छैटौं गोल गरिन्।

आजको खेलमा अमिषा राईले पहिलो रोजाइबाट मैदानमा ओर्लँदै आफ्नो यु–२० अन्तर्राष्ट्रिय डेब्यु गरेकी छन्। नेपालले प्रतियोगिताअन्तर्गत दोस्रो खेल यही जुलाई १३ तारिखमा आयोजक बंगलादेशसँग खेल्नेछ।

नेपालको यो सानदार जितले टोलीको मनोबल उच्च बनाएको छ र उपाधिका लागि बलियो दावेदारका रूपमा अघि बढ्ने संकेत पनि दिएको छ। पूर्णिमा राईको उत्कृष्ट प्रदर्शनले नेपाली फुटबलमा नयाँ सम्भावनाको संकेत गरेको विश्लेषण गरिँदैछ।

प्रतिक्रिया दिनुहोस्