रसुवामा हिमताल विष्फोटपछि आएको बाढीमा मृत्यु हुनेको संख्या ११ पुग्यो : अझै १९ बेपत्ता


काठमाडौं । रसुवाको माथिल्लो जलाधार क्षेत्रमा रहेको हिमताल विष्फोटपछि मंगलबार आएको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार, त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा थप दुई शव फेला परेसँगै मृतकको संख्या ११ पुगेको हो।

प्रहरीका अनुसार हालसम्म बाढीबाट प्रभावित ८६२ जनाको सफलतापूर्वक उद्धार गरिएको छ। उद्धार गरिएका व्यक्तिहरूलाई सुरक्षित गन्तव्यतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ।

बाढीमा परेर ज्यान गुमाउनेमध्ये हालसम्म केवल एक जनाको मात्रै सनाखत भएको छ। ती प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठ हुन्, जसको शव पहिचानपछि अन्त्येष्टि गरिएको छ। अन्य शवहरूको अवस्था चिन्न नसकिने गरी क्षतविक्षत रहेकाले सनाखत प्रक्रिया जटिल बनेको प्रहरी स्रोतले जनाएको छ। कतिपय अवस्थामा मानव अङ्ग मात्र फेला परेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म १९ जना अझै बेपत्ता रहेका छन्। उनीहरूको खोजीका लागि एक हजार ३०० भन्दा बढी सुरक्षाकर्मी खटाइएको छ। खोज तथा उद्धार कार्य निरन्तर जारी रहेको प्रहरीले जनाएको छ।

उक्त बाढीले नेपाल–चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको छ भने भौतिक सम्पत्तिमा पनि ठुलो क्षति पुगेको छ। बाढीले २४ वटा कन्टेनर, ६ वटा ट्रक र ४२ वटा इभी गाडी बगाएको बताइएको छ। यस्तै, धुन्चे–टिमुरे सडक खण्डमा गम्भीर क्षति पुगेको छ भने रसुवागढी जलविद्युत् आयोजनाको ड्याम र भन्सार कार्यालय यार्डमा समेत क्षति पुगेको छ।

जल तथा मौसम विज्ञान विभागले यसअघि नै सुप्राग्लेशियल (हिमानी माथिको) ताल विष्फोट भएर बाढी आएको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरिसकेको छ। उपग्रह ‘सेन्टिनेल’ बाट प्राप्त तस्बिरहरूको विश्लेषणले बाढी पूर्व र बाढीपछिको तालको आकारमा उल्लेखनीय घटावट देखाएको छ।

उक्त हिमताल विष्फोट र त्यसबाट निम्तिएको विनाशकारी बाढीले जलवायु परिवर्तनप्रति थप गम्भीर ध्यानाकर्षण गराएको विज्ञहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्