“पार्टी कमिटीले बिदा गरे जान तयार छु” : अध्यक्ष माधव नेपाल


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी कमिटीले निर्णय गरेमा आफू पदबाट हट्न तयार रहेको बताएका छन्। शुक्रवार काठमाडौँमा आयोजित अनेरास्ववियूको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन्।

“अहिले ममाथि मुद्दा लागेको छ, कमिटीले मलाई बिदा गर्छ भने म तयार छु,” अध्यक्ष नेपालले भने, “तर, पार्टी निर्माण गर्ने आँट अझै ममा बाँकी छ।”

उनले विगतमा विभिन्न चुनौतीको सामना गर्दै आएको उल्लेख गर्दै भविष्यमा पनि जस्तोसुकै परिस्थितिसँग जुध्न आफू तयार रहेको जनाए। “चुनौतीका साथ भन्न चाहन्छु– फेरि पनि चुनौतीको सामना गरिन्छ,” उनले भने।

पूर्वप्रधानमन्त्री नेपालले आफूले जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको दाबी गर्दै भने, “नबिराउनु, नडराउनु मेरो मान्यता हो। मैले एक नयाँ पैसा कसैको घुस खाएको छैन। मागेको मात्रै होइन, दिन आएकोलाई पनि अस्वीकार गरेको छु।”

आफूलाई परिवारबाट प्राप्त इमानदार संस्कारप्रति गर्व महसुस हुने बताएका उनले थपे, “बुवाले मलाई मेहनत गर्न सिकाउनु भएको हो। त्यो संस्कार मेरो जीवनको मूल आधार हो।”

भ्रष्टाचारको आरोपप्रति प्रतिक्रिया दिँदै उनले भने, “कसैले मलाई भ्रष्टाचारको आरोप लगाउँछ भने अब धेरै बोल्न भएन। तर मेरो बानी नरम भए पनि झोक चलेपछि म वार कि पारको लडाइँ लड्ने मान्छे हुँ।”

अध्यक्ष नेपालले संविधानको धारा २३९ मा स्पष्ट रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकार सीमित रहेको उल्लेख गरे। उनले अख्तियारले संवैधानिक पदाधिकारीहरूको अनुसन्धान गर्न नपाउने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्