मनीषा कोइरालाले भनिन्, ‘रवि लामिछानेमाथि अन्याय भएको छ’


काठमाडौं । प्रख्यात नेपाली अभिनेत्री मनीषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा आयोजित ‘न्यायका लागि’ हस्ताक्षर अभियानमा सहभागी हुँदै राज्यबाट लामिछानेमाथि अन्याय भएको ठहर गरेकी छन्।

मनीषा कोइराला बिहीबार वनस्थलीस्थित रास्वपा पार्टी कार्यालय पुगेर अभियानमा हस्ताक्षर गरेकी हुन्। हस्ताक्षर पश्चात् सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको बताइन्।

“म कुनै पार्टीमा छैन, आम नागरिकको हैसियतले राज्यबाट भइरहेको अन्यायको विरोधमा आवाज उठाउन आएको हुँ,” उनले भनिन्, “त्यति मात्र भन्नु छ।”

पत्रकारले ‘रविजीमाथि अन्याय भएको तपाईँको ठम्याइ हो?’ भन्ने प्रश्नमा उनले प्रष्ट जवाफ दिइन्, “डेफिनेट्ली (निश्चित रूपमा)।”

रास्वपा सभापति रवि लामिछानेविरुद्ध पछिल्लो समय देखिएको सरकारी व्यवहारप्रति असन्तुष्टि जनाउँदै रास्वपाले ‘न्यायका लागि’ हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ। सोही अभियानमा अभिनेत्री कोइरालाको समर्थनलाई रास्वपाका नेताहरूले मनोबल बढाउने कदमको रूपमा लिएका छन्।

मनीषा कोइराला नेपाली चलचित्र क्षेत्रमा मात्र नभई बलिउडमा समेत सशक्त अभिनयका लागि चर्चित नाम हो। लामो समय विदेश बसेकी कोइरालाले सामाजिक तथा राष्ट्रिय सरोकारका विषयमा बेलाबेलामा स्पष्ट धारणा सार्वजनिक गर्दै आएकी छन्।

प्रतिक्रिया दिनुहोस्