एलन मस्कद्वारा ‘अमेरिका पार्टी’ गठनको घोषणा : अमेरिकी राजनीतिमा तरङ्ग


काठमाडौं । अमेरिकी अर्बपति तथा प्रविधि व्यवसायी एलन मस्कले शनिवार सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मार्फत नयाँ राजनीतिक दल ‘अमेरिका पार्टी’ को घोषणा गरेका छन्। स्वतन्त्रता दिवसको अवसर पारेर गरिएको यस घोषणाले अमेरिकी राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ।

मस्कले एक्स मा सार्वजनिक पोलसहित पार्टी गठनको घोषणा गर्दै लेखेका छन्, “आज अमेरिका पार्टी गठन हुँदै छ ताकि तपाईँले आफ्नो स्वतन्त्रता फिर्ता पाउन सक्नुहोस्।” उनले हालको दुई प्रमुख दल – डेमोक्रेट र रिपब्लिकन – लाई एउटै प्रवृत्तिका भ्रष्ट शक्तिहरूको रूपमा चित्रण गरेका छन्।

उनले थपे, “अमेरिकालाई बर्बाद गर्ने र भ्रष्टाचार फैलाउने कुरामा दुवै दल उस्तै हुन्। अब देशले दुई दलीय प्रणालीबाट मुक्ति पाउनेछ।”

४ जुलाईको स्वतन्त्रता दिवसमा मस्कले एक्समा एक पोल पोस्ट गर्दै प्रश्न गरेका थिए – ‘के तपाईँ दुई दलीय प्रणालीबाट स्वतन्त्रता चाहनुहुन्छ? के हामीले अमेरिकालाई पार्टी बनाउनु पर्छ?’ पोलमा सहभागीमध्ये ६५.४ प्रतिशतले ‘हो’ भन्ने मतदान गरे भने ३४.६ प्रतिशतले ‘होइन’ मतदान गरेका थिए, जसले मस्कको नयाँ दलको अवधारणालाई जनसमर्थन रहेको देखाएको छ।

एलन मस्क र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबिच पछिल्ला दिनहरूमा “बिग ब्यूटीफुल बिल” विषयमा चर्को बहस भएको थियो। उक्त विवादपछि मस्कले आफू ट्रम्प प्रशासनबाट टाढा भएको सार्वजनिक घोषणा गरेका थिए। राजनीतिक हस्तक्षेप र सामाजिक सञ्जाल प्रयोगमार्फत जनमत सिर्जना गर्दै आएका मस्क अब प्रत्यक्ष राजनीतिक प्रतिस्पर्धामा उत्रने सङ्केत दिइरहेका छन्।

‘अमेरिका पार्टी’ को औपचारिक दर्ता र आगामी निर्वाचनमा सहभागिता सम्बन्धी विस्तृत विवरण भने आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्