काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गर्दै औपचारिक रूपमा पार्टी राजनीतिमा पुनः सक्रिय भएको घोषणा गरेकी छन् । शनिबार राजधानीमा आयोजित मदन भण्डारी जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले आफू एमाले परिवारको सदस्यका रूपमा पुनः जोडिएको जानकारी दिइन् ।
‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु,’ भण्डारीले कार्यक्रममा सम्बोधन गर्दै भनिन्, ‘मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन ।’
पूर्व राष्ट्रपति भण्डारीले देश र जनताको हितलाई नै आफ्नो ध्येय र लक्ष्य रहेको स्पष्ट पारिन् । उनले जननेता मदन भण्डारीका विचार र आदर्शलाई स्मरण गर्दै आफू समर्पित रहने प्रतिबद्धता व्यक्त गरिन् ।
‘जननेताले भन्नु हुन्थ्यो– जनता भनेका भगवान हुन् । उहाँले भन्नु भएको थियो– राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन,’ उनले भनिन्, ‘आज यहाँ तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाइहरू स्मरण गर्दै पुनः दोहोर्याउँदैछु । व्यवहारका कसीबाट खारिएका यी भनाइहरूलाई आदर्श मानेर म समर्पित रहनेछु ।’
राजनीतिक यात्रामा आएको अनुभव र सिकाइले आफूलाई थप परिपक्व बनाएको उल्लेख गर्दै उनले विगतका अनुभवलाई मूल्यांकन गर्दै अघि बढ्ने बताइन् । ‘मलाई जस्तै विगतले अरूलाई पनि महत्त्वपूर्ण शिक्षा र अनुभव दिएको छ । समयको पदचापलाई आत्मसात् गर्दै संयततापूर्वक अगाडि बढ्न जरुरी छ,’ उनले भनिन् ।
साथै उनले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहका रूपमा विकसित नेकपा एमालेलाई सामाजिक–आर्थिक रूपान्तरणको जिम्मेवारी पूरा गर्न सक्षम पार्टीका रूपमा विश्वास व्यक्त गरिन् ।
‘नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा मुलुकको सामाजिक–आर्थिक रूपान्तरण गर्ने दायित्व अझै बाँकी छ,’ पूर्व राष्ट्रपति भण्डारीले भनिन्, ‘यो दायित्व पूरा गर्न एमाले सक्षम हुनेछ । पार्टीले निर्णायक राष्ट्रिय शक्ति निर्माण गरी नेपाललाई विश्वसामु समुन्नत राष्ट्रका रूपमा चिनाउन सफलता पाउनेमा म दृढ छु ।’