विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन तयार : आज औपचारिक घोषणा हुँदै


काठमाडौं । झण्डै एक दशकपछि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी फेरि सक्रिय राजनीतिमा फर्कन लागेकी छन् । पति मदन भण्डारीको ७५औँ जन्म जयन्तीको अवसर पारेर आज (शनिवार) आयोजना हुन लागेको बृहत् कार्यक्रममा उनले औपचारिक रूपमा नेकपा एमालेको सक्रिय राजनीतिमा पुनः प्रवेश गर्ने घोषणा गर्ने भएकी हुन् ।

काठमाडौँको भृकुटीमण्डपस्थित पुरानो राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा भण्डारीले आफू एमाले राजनीतिमा सक्रिय रूपमा फर्किएको जनाउने तयारी गरेको स्रोतले जनाएको छ । राष्ट्रपतिका दुई कार्यकाल पूरा गरी २०७९ सालको फागुन २९ गते शीतल निवासबाट बाहिरिएकी भण्डारी त्यसयता देश दौडाहामा एमालेका नेता–कार्यकर्तासँग निरन्तर सम्पर्कमा रहेकी थिइन् ।

राष्ट्रपति हुनुअघि एमालेको उपाध्यक्ष रहेकी भण्डारी अहिले पुनः पार्टी राजनीतिमा फर्कने निर्णयमा पुगेकी हुन् । मदन भण्डारी फाउन्डेसनको आयोजनामा हुने कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पनि प्रमुख अतिथि रहने कार्यक्रम तय भएको छ । ओलीको आज साँझ स्पेन प्रस्थान गर्ने कार्यक्रम रहेकाले उनी कार्यक्रममा सहभागी हुने निश्चित भए पनि समय व्यवस्थापनमा केही चुनौती देखिएको फाउन्डेसनका पूर्व अध्यक्ष महेन्द्रबहादुर पाण्डेले बताएका छन् ।

फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीका अनुसार प्रधानमन्त्री ओलीले स्वयम् कार्यक्रममा सहभागी हुने जानकारी गराइसकेका छन् । कार्यक्रमप्रति एमालेभित्र र बाहिर चासो बढेको छ ।

यता, पार्टीभित्र पछिल्लो समय संस्थापन पक्षसँग असन्तुष्ट रहेका, विभिन्न कमिटी र जनसङ्गठनहरूको नेतृत्वमा स्थान नपाएका र चुनावमा पराजित भएका नेताहरूले विद्या भण्डारीलाई पार्टी नेतृत्वमा फर्कन दबाब दिँदै आएका छन् । उनीहरू भण्डारीलाई आगामी दिनमा एमालेको वैकल्पिक नेतृत्वका रूपमा अघि ल्याउने रणनीतिमा रहेको बताइएको छ ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको मदन भण्डारी हीरक जयन्ती मूल समितिले देशव्यापी कार्यक्रमको तयारी गरिरहेको छ । तर पार्टी केन्द्रीय कार्यालयका अनुसार यसबारे कुनै औपचारिक निर्णय भने भइसकेको छैन । पोखरेल स्वयं उमेर हदका कारण आगामी नेतृत्व परिवर्तनको बहसमा खुलेर विद्या भण्डारीको पक्षमा उभिन थालेका छन् ।

पार्टी नेतृत्व र सङ्गठनात्मक बहसबिच पूर्व राष्ट्रपति भण्डारीको पुनरागमनले एमालेको आन्तरिक राजनीति थप तात्न थालेको छ । अब भण्डारीको सम्बोधन र घोषणाले एमालेको भावी राजनीतिक समीकरण कतातिर मोडिन्छ भन्ने विषयमा व्यापक चासो उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्