अध्यक्ष नेपालमाथि राजनीतिक प्रतिशोध साँधिएको नेकपा एकीकृत समाजवादीको निष्कर्ष


काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक प्रतिशोध साँधिएको ठहर गरेको छ । शुक्रबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले पतञ्जली जग्गा हिनामिना प्रकरणमा अध्यक्ष नेपालमाथि षड्यन्त्रपूर्वक मुद्दा दायर गरिएको निष्कर्ष निकालेको हो ।

पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले अध्यक्ष नेपाललाई राजनीतिक प्रतिशोध स्वरूप फसाइएको दाबी गरे । उनले भने, ‘हामीले विद्रोह गरेर नयाँ पार्टी गठन गरेदेखि नै लगातार निसाना बनाइँदै आएको छ । अहिलेको मुद्दा पनि सोही राजनीतिक पूर्वाग्रहकै परिणाम हो ।’

बैठकले अध्यक्ष नेपालमाथि दायर मुद्दाको कानुनी लडाइँ जारी राख्ने निर्णय गरेको उपाध्यक्ष ज्वालाले जानकारी दिए । उनले भने, ‘यो पार्टी र आन्दोलनमाथिकै प्रहार हो भनेर साथीहरूले कुरा राख्नुभएको छ । हामी कानुनी रूपमा नै यो मुद्दा लड्नेछौं र सफाइ पाउनेछौं ।’

अध्यक्ष नेपालले जिम्मेवारीबाट राजीनामा दिने भन्नेबारे अहिलेसम्म कुनै औपचारिक छलफल नभएको पनि ज्वालाले बताए । ‘उहाँले आजकै बैठकको अध्यक्षता गर्नुभएको छ । संसदीय दलको नेताको विषयमा संसदीय दलमै छलफल होला, तर अहिले त्यस्तो निर्णय केही भएको छैन,’ उनले स्पष्ट पारे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठसँग सम्बन्धित जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालसहित अन्यहरूविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको थियो । गत बुधबार विशेष अदालतमा थुनछेक बहसपछि अदालतले अध्यक्ष नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

पार्टीले यो मुद्दालाई राजनीतिक षड्यन्त्रको रूपमा व्याख्या गर्दै कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्