चितवन । चितवनको राप्ती नगरपालिका–३ अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा शनिवार भएको सवारी दुर्घटनामा एउटै परिवारका तीन सदस्यसहित सात जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य २४ जना घाइते भएका छन्।
हेटौँडाबाट नारायणगढतर्फ गइरहेको इभी माइक्रो (गाडी नं. ०३–००१ ज २९९) र धनगढीबाट काँकडभिट्टा गइरहेको यात्रुवाहक बस (प्रदेश १–०१–००१ ख ३५८३) भण्डाराको मोडमा एकआपसमा ठोक्किँदा यो भीषण दुर्घटना भएको हो।
तीन पुस्ताको एकैसाथ अन्त्य
ज्यान गुमाउनेहरूमध्ये हेटौँडा उपमहानगरपालिका–५ की २७ वर्षीया गर्भवती रेनुका कँडेल, उनका श्रीमान् ३५ वर्षीय सरोज पहाडी, र ५३ वर्षीया सासू मैयाकुमारी न्यौपाने पहाडी एउटै परिवारका सदस्य हुन्।
रेनुका आइतबार डेलिभरीको मितिमा थिइन्। पहिलो सन्तान छोरीलाई घरमा ससुराको जिम्मा लगाएर, सासू र श्रीमानसँगै भरतपुर अस्पतालतर्फ गइरहेकी थिइन्। तर, अस्पताल पुग्न झन्डै २० किलोमिटर बाँकी छँदै उनीहरू दुर्घटनामा परे।
“रेनुका हेटौँडामै स्वास्थ्य परीक्षण गराउँदै आएकी थिइन्। तर डेलिभरी नजिकिएपछि भरतपुर जान लागेकी थिइन्,” उनका आफन्त नवराज पहाडीले बताए। यो दुर्घटनाले एउटा सिंगो परिवारलाई चुँडाएको मात्रै होइन, जन्मिनै नपाएका अजन्मिएको एक जीवनसमेत गुमाएको छ।
अन्य मृतकमध्ये हेटौँडा–४ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती, रौतहटको चन्द्रनिगाहपुर–६ की ३१ वर्षीया सिता कुमारी, र इभी भ्यान चालक हेटौँडा–१० का राजु थिङ रहेको चितवन प्रहरीले जनाएको छ। सातौँ मृतकको सनाखत भने समाचार तयार पार्दासम्म हुन सकेको छैन।
घाइतेहरूलाई भरतपुरस्थित विभिन्न अस्पतालमा भर्ना गरिएको छ, जसमध्ये केहीको अवस्था गम्भीर छ। प्रहरीका अनुसार दुवै सवारी तीव्र गतिमा रहेका र मोडमा असावधानीपूर्वक चलाइएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीका प्रवक्ता डिएसपी रवीन्द्र खनालले जनाएका छन्।