पोखराबाट अवैध सुनका गरगहनासहित दुई जना पक्राउ

भारतमा तयार पारिएका गहना नेपालमा बिक्रीको योजना


पोखरा । पोखरामा अवैध रूपमा भारतबाट ल्याइएको एक करोड रुपैयाँभन्दा बढी मूल्यका सुनचाँदीका गरगहनासहित दुई जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये एक भारतीय नागरिक र अर्का नेपाली नागरिक रहेको कास्की प्रहरीले जनाएको छ।

भारतको पञ्जाब राज्य अन्तर्गत अमृतसरस्थित न्यु प्रतापनगर गी.टी. रोड–१ का ४९ वर्षीय कुलदीप सिंह र रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६, पूर्वबहियाका ४७ वर्षीय रामबहादुर विक पक्राउ परेका हुन्।

कास्की प्रहरीले पोखरा–२२ पुम्दी क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट ८२ तोला भन्दा बढी सुनचाँदीका गरगहना बरामद गरेको छ। बरामद गरगहनाको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ।

भारतमा तयार पारिएका गहना नेपालमा बिक्रीको योजना

प्रहरी अनुसन्धानअनुसार कुलदीप सिंह भारतमै सुनचाँदीका गरगहना बनाउने कालिगड हुन्। उनी पछिल्ला केही वर्षदेखि उत्तर प्रदेश, गोरखपुर, बिहार, दिल्ली, हरियाणा र उडिसाजस्ता राज्यमा गरगहना बेच्दै हिँड्ने गर्थे। रामबहादुर विकले नेपालमा कालिगडको रूपमा काम गर्दै आएका थिए।

ती दुवै जनाले अवैध रूपमा भारतबाट नेपालमा सुन भित्र्याउने र पोखरा, बुटवल लगायतका सहरमा बिक्री गर्ने योजना बनाएको खुलासा भएको छ। पोखराका सुनचाँदी पसलमा गरगहना बिक्री गर्ने प्रयास असफल भएपछि उनीहरू बुटवल जाने योजनामा थिए।

प्रहरीका अनुसार सिंह र विकबिच तीन वर्षअघि फेसबुकमार्फत सम्पर्क भएको थियो। त्यसयता उनीहरूबिच गहना आपूर्ति र बिक्री सम्बन्धी योजना बनाउँदै आएको देखिएको छ। विक सिंहका सहयोगीका रूपमा कार्य गर्दै आएका थिए।

कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालका अनुसार, “उनीहरूले भारतबाटै तयार गरगहना नेपाल भित्र्याउने, पोखरा र बुटवल जस्ता सहरमा वितरण गर्ने योजना बनाएका थिए। बरामद गरगहनाको मूल्य एक करोडभन्दा बढी हुन सक्छ।”

प्रहरीले हाल उनीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ। घटनासँग थप व्यक्ति वा गिरोह संलग्न रहेको आशंकामा अनुसन्धान विस्तार गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्